जुम्ला – जुम्लाको हिमा गाउँपालिका – ५ कालिकाखेतुस्थित प्रथामिक स्वास्थ्य केन्द्रमा सेवा प्रदान गर्दै आएका चिकित्सकले सेवा सुविधा तलव नपाएका गुनासो गरेका छन् । २०८२ कार्तिक महिनादेखि प्रथामिक स्वास्थ्य केन्द्र कालिकाखेतु दुर्गम टाउँमा सेवा प्रवाह गर्दै आएका डाक्टर आशिष प्याकुरेलसहित एक जना विएन नर्सिङ गरी दुई जनाले सेवा सुविधा नपाएका हुन् ।
चिकित्सकसमेतको दरवन्दी रहेको प्रथामिक स्वास्थ्य केन्द्रले करारमा भएपनि डाक्टर प्राप्त गरेको थियो । निर्वाद रुपमा सेवा प्रवाह गर्दै आएका चिकित्सकले समयमै सेवासुविधा तलव नपाउनु दुखद पक्ष हो । यस्ता समस्याले पुन दुर्गमका विरामीले सहजै रुपमा चिकित्सकिय सेवा पाउन समस्या हुने देखिएको छ ।
छात्रबृत्ति करारमा सेवा प्रवाह गर्दै आएका स्वास्थ्यकर्मीले ४ महिनादेखि सेवासुविधा तलब नपाएको गुनासो गरेका छन् ।
लामो समयसम्म सेवासुविधा तलब नपाउदा दुर्गममा बस्न र खर्च व्यवस्थापनमा समेत समस्या भएको डाक्टर आशिष प्याकुरेलले बताए । उनले भने, कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय हुदै जनस्वास्थ्य कार्यालय जुम्लामार्फत छात्रबृत्ति करारमा सेवा प्रवाह गर्न थालिएको हो । दुर्गममा काम गर्ने भनेरै आएको हो । दुर्गमका विरामीको सेवा गर्नु पर्दछ भन्ने मान्यता हो । तर पाउने सुविधा समयमा नपाउनु दुखद पक्ष हो । सम्वन्धित निकायले समयमा सुनुवाई गरिदिनु पर्दछ ।
जनस्वास्थ्य कार्यालय जुम्लालाई तलव सुविधाका लागि गुनासो गर्दा पनि समस्याको समाधान भएको छैन । उनले भने, जनस्वास्थ्यलाई भन्दा प्रदेशबाट निकास आएको छैन भन्ने कुरा छ । प्रदेशमा बुझ्दा केन्द्रबाट रकम निकासा नभएको भन्ने कुरा आउन्छ । यसले सेवा प्रवाहमै समस्या पार्ने देखिएको छ ।
सरदर दैनिक २०÷२५ जना विरामी प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आउने गरेका छन् । प्रसुति सेवासमेत प्रवाह गर्दै आएको प्रथामिक स्वास्थ्य केन्द्रमा जटिल किसिमका विरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गर्ने गरिएको डाक्टर प्याकुरेलले बताए ।
यहाँको एक्सरे मेसिन पनि लामो समयदेखि मर्मत नभएर थन्किएको छ । ल्याव सेवा चलेपनि केमिकल जस्ता कुरा समय नआउदा उपचारमा पनि समस्या हुन्छ । चिकित्सकसँग सँगै आवश्यक औजार, उपकरण, सेसिन भएपछि विरामीले छिटोछरितो सेवा पाउने हुन्, उनले भने ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी देविप्रसाद पौडेलका अनुसार संघीय सरकार स्वास्थ्य मन्त्रालयमार्फत निकास आउने हो । निकासा ढिला आएकोले समयमा तलव उपलव्ध नभएको हो । उनले भने, हामीले कार्तिक महिनामै निकासा माग गरेका थियो । अब रकम निकासा आएको छ । अर्थमन्त्रालयमा रकम बाँडफाड भएर यसै चैत महिनाको ७÷८ गतेभित्रै रकम जिल्ला जिल्लामा जान्छ र चिकित्सकहरुले तलव भत्ता पाउने छन् ।



