जुम्ला । विदेशबाट फर्किएका यूवालाई उद्यमी बनाउन यहाँका स्थानीय तहले उद्यमशीलता तालिम दिने तयारी गरेका छन् । वैदेशिक रोजगारीमा लामो समय बिताएका यूवाहरुको अनुभव र सिपलाई स्वदेशमा लागु गर्न उद्यमशीलता तालिम दिने तयारी गरेका हुन् ।
जुम्लाको तातोपानी र सिंजा गाउँपालिकाले ४० जना यूवालाई उद्यमशीलता तालिम दिने तयारी गरेका छन् ।
बैदेशिक रोजगारीबाट फर्किएका बेरोजगार यूवा यूवतीलाई उद्यमशीलता तालिम दिएर गाउँमै रोजगार प्रर्बद्धन गर्ने लक्ष्य राखिएको छ । स्थानीय उत्पादनमा आधारित साना उद्योग तथा व्यवसाय संचालन गरी आयआर्जन बृद्धि गर्न उद्यमशीलता तालिम प्रदान गरिने तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए ।
तातोपानीका ८ वटा वडाका २० जना विदेशबाट फर्किएका यूवालाई उद्यमशीलता तालिम दिईने छ । पालिकाले सूचना जारी गरेर ईच्छुक यूवालाई सात दिन भित्र सम्पर्कमा आउन आह्वान गरिएको छ ।
गाउँपालिकाको आयोजनामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सीप, अनुभव तथा पूँजीलाई उपयोग गरी रोजगारी सृजना गर्ने र फेरी विदेशीनु नपर्ने गरी यूवालाई लगानीको वाताबरण बनाउन समेत यूवा उद्यमीको अवधारणा ल्याइएको सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए । उनका अनुसार सिंजाका पनि २० जना यूवालाई उद्यमशीलता तालिम दिईने छ ।
‘वैदेशिक रोजगारीका अनुभवलाई स्थानीय स्तरमा लागु गरी उद्यमशीलता प्रर्बद्धन गर्ने स्थानीयतहको योजना छ,’उनले भने,‘अनुभव भएर पनि केही गर्न नसकेका यूवालाई हौसला पनि प्रदान हुने छ । ती यूवाको प्रेरणाले अरु यूवा पनि उद्यमशीलतामा आर्कषित हुने अपेक्षा छन् ।’
वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि पालिकास्तरमै उद्यमी बनाउन विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँग लागत साझेदारीको लागि समन्वय भइरहेको पालिका प्रमुखहरुले बताएका छन् ।
विदेशमा आर्जन गरेको पुँजी, ज्ञान, सीप, प्रविधि र अनुभव आफ्नै माटोमा प्रयोग गर्ने योजना छ । नवीनतम ज्ञान र सीपमा आधारित व्यवसाय स्थापना र संचालनका लागि वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई अनुदान र सहुलियत व्याजदरमा उद्यमी कर्जा प्रवाह गर्ने रणनीति छ ।
उद्यमशीलता तालिममा सहभागी हुने यूवाले आवेदन फाराम,नेपाली नागरिकताको प्रतिलिपि,वैदेशिक रोजगारीबाट फर्किएको प्रमाण (पासपोर्ट र भिसा र श्रम स्वीकृति आदि मध्य कुनै एकको प्रतिलिपी,हालसालै खिचिएको पासपोर्ट साइज फोटो लगायतका कागजात पेश गर्नुपर्ने छ ।
छनोट भएका यूवालाई पालिका र संघ संस्था संग समन्वय गरी निरब्याजी ऋण समेत उपलब्ध गराईने छ । पालिकाको अन्य विकास निर्माण तथा रोजगार प्रर्बद्धनका कार्यक्रममा तालिम लिएका यूवालाई प्रथामिकता दिईने छ ।



