जुम्ला – कनकासुन्दरी गाउँपालिका – २ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधी अभाव देखिएको छ । करिव दुई महिनादेखि एन्टीभाइटिक एमोक्सिलिन, सिप्रोफोलोक्सासिन जस्ता अत्यावश्यक औषधी अभाव भएको हो ।
मालिकाबोता स्वास्थ्य चौकी इन्चार्ज रतन हमालका अनुसार स्वास्थ्य चौकीमा ९२ प्रकारका औषधी आउनु पर्ने हो । तर १३/१४ प्रकारका औषधी पनि आउने गरेको छैन । उनले भने, एन्टीभाईटिकका औषधी स्वास्थ्य चौकीमा अत्यावश्यक पर्ने गर्दछ । तर त्यही औषधी करिव दुई महिनादेखि अभाव छ ।
गाउँपालिकामा माग फाराम भरेर पठाएका छौँ । प्राप्त भएको छैन । उनले भने, चालु आर्थिक वर्षको औषधी समयमा खरिद पहिलो चौमासिक असोज कार्तिक महिनामा औषधी खरिद गरिसक्नु पर्ने हो । तर भर्खर खरिद औषधी गाउँपालिकाको स्टोरमा पुगेको छ भन्ने सुनिएको छ । स्वास्थ्य चौकीमा पुगेको छैन ।
दैनिक १०/१५ जना विरामी स्वास्थ्य चौकीमा आउने गरेको इन्चार्ज हमालले बताए । उनले भने, यहाँको हावापानी चिसोका कारण दम रोगका विरामी बढी आउने गरेका छन् । अत्यावश्यक औषधी नहुदा समस्या भएको छ ।

प्रसुतिगृहले गर्भवतिलाई सहज
गाउँबस्ती नजिकै प्रसुति गृह सञ्चालन भएको गर्भवती र सुत्केरी महिलालाई सहज भएको छ । जसले गर्दा नियमित चेकजाँच र प्रसुति गर्न सहज भएको हो । गतवर्ष १९ जना र चालु आर्थिक वर्षको चैत १ गतेसम्म १३ जना प्रसुति गृहमा सुत्केरी भएका छन् ।
नियमित गर्भ चेकजाँच गरेबापत प्रति सुत्केरी महिला ८ सय र यातायात प्रोत्साहन बापत तीन हजार रुपियाँ सुत्केरी महिलालाई वितरण गर्ने गरेको स्वास्थ्य चौकी इन्चार्ज हमालले बताए । उनले भने, प्रदेश सरकारले उपलव्ध गराउने प्रति सुत्केरी महिला दुई हजार रुपियाँ पनि आर्थिक वर्षको अन्तिम चौमासिकमा वितरण गर्ने तयारी गरिएको छ ।
कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक वीरेन्द्र उपाध्यायका अनुसार ७ लाख रुपियाको औषधि खरिद गरेर पालिकाको स्टोरमा पुगेको छ । त्यो औषधि अभाव भएनभएको रेखदेख गरेर स्वास्थ्य चौकीमा पठाउने छौँ । उनले भने, पुन १३ लाख रुपियाको औषधि खरिद गर्ने तयारी गरेका छौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमै औषधि खरिद गर्नुपर्ने हो । तर विविध कारणले औषधि अलि ढिला खरिद हुन पुगेको हो ।



