जुम्ला – कनकासुन्दरी गाउँपालिका –१ न्याउरीगाँडस्थित आरसिसी मोटरेवल पुल निकै सुस्त गतिमा निर्माण भई रहेको छ । निर्माण थालिएको दुई वर्षमा पुलको एउटा आधा पिलर मात्रै निर्माण भएको छ । जुम्लाको सदरमुकाम खलंगा हुँदै उर्थुचौतारा, पटमारा खालीपाटन, न्याउरीगाड, काँभ्रा, चौथा, बुलबुले घुच्चीलेक भएर मुगुको रारा ताल पुग्ने छोटो दुरीको सडक हो । यही सडक अन्र्तगत न्याउरीगाडमा निर्माणाधिन आरसिसी पक्की पुल निकै सुस्त गतिमा निर्माण भई रहेको छ ।
पुलको ठेक्का २०८१ जेठ १३ गते सम्झौता भएर २०८३ असार ३० भित्र निर्माण सम्पन्न हुनु पर्ने हो । तर पुल सम्पन्न मिति तीन महिना मात्रै बाँकी छ । पुलको एउटा पिलर पनि निर्माण हुन सकेको छैन । एउटा पिलर आधा बनेको छ । काम सन्तोषजनक रूपमा अघि नबढ्दा आयोजना अलपत्र पर्ने चिन्ता बढेको छ । यो पुल जुम्ला सदरमुकामबाट मुगुको राराताल जाने छोटो दुरीको मार्गमा पर्ने भएकाले यसको रणनीतिक महत्व उच्च रहेको छ । पुल निर्माण नहुँदा वर्षायाममा विशेषगरी यात्रु तथा पर्यटकले जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । यसले पर्यटन प्रवद्र्धनमा समेत प्रत्यक्ष असर पारिरहेको स्थानीयको भनाई छ ।
कुल लागत भ्याटसहित ७ करोड १८ लाख ५४ हजार ४१६ रुपैयाँ अनुमान गरिएको यो पुल ५ करोड ५४ लाख ८६ हजार २ सय ४७ रुपैयाँमा सम्झौता गरिएको हो । यो पुलको योजना पूर्वाधार विकास कार्यालय जुम्ला मार्फत कार्यान्वयन भइरहेको छ । कार्यालयका सिनियर डिभिजनल अधिकृत रुपक रावलले पुल निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै जाडो मौसमका कारण काम प्रभावित भएको बताए । जाडो समयमा काम नहुने भएकाले पनि निर्माण कार्य ढिला भएको हो । जाडो सकिएसँगै निर्माण कार्य सुरु भएको छ । उनका अनुसार निरन्तर रूपमा काम अघि बढे आगामी वर्षसम्म पुल निर्माण सम्पन्न हुन सक्ने देखिन्छ । तर निर्धारित समयमै काम सकिने अवस्था भने नरहेको स्पष्ट देखिएको छ ।

उक्त पुल निर्माणको जिम्मा एमएस÷एनसि एमएनएसजेएनएस जेभि काठमाडौँको हो । यस पुलको जिम्मेवारी स्थानीय निर्माण व्यवसायी तुल्सी रावतले काम सम्हाल्दै आएका छन् । तर निर्माण ढिलाइबारे प्रतिक्रिया लिन खोज्दा उनले सम्पर्कमा आएनन् ।
यही ठाउँमा अहिले मोटरयवल काठेपुल छ । साना तथा मझौला सवारी साधन यसै काठेपुलबाट आवतजावत गर्ने गरेका छन् । काठेपुल घामपानीले छिटो समयमा जिर्ण हुने भएकोले समयमै मोटरयवल पक्की निर्माण गर्नुको विकल्प छैन ।
यसैबीच, सोही प्रकृतिको अर्को पुल पातारासी गाउँपालिका–४ लुममा पनि निर्माणाधीन अवस्थामा रहेको छ । त्यहाँ जग्गा विवादका कारण निर्माण कार्य झनै प्रभावित भएको छ । हालसम्म उक्त पुलमा फाउण्डेशन तयार भएको जनाइएको छ । स्थानीयवासीले निर्माण व्यवसायीको ढिलासुस्ती र सम्बन्धित निकायको कमजोर अनुगमनका कारण योजना लम्बिदै गएको छ ।



