जुम्ला । प्रथम स्ववियु कप भलिबल प्रतियोगिताको उपाधि पातारासी गाउँपालिकाले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा पातारासीले तातोपानी गाउँपालिकामाथि जित निकाल्दै ट्रफी उचालेको हो। कडा प्रतिस्पर्धापछि तातोपानी उपविजेतामा सीमित रह्यो।
विजेता हाम्रो पातारासीको टिमले १ लाख १ हजार १ सय १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता तातोपानीले ५१ हजार १ सय १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको स्ववियु सभापति लोकेन्द्र बहादुर बुढाले जानकारी दिए।
स्वतन्त्र विद्यार्थी युनियन जुम्लाको आयोजनामा भएको उक्त प्रतियोगितामा जिल्लाभरिका ९ टिम सहभागी थिए। प्रतियोगिता अवधिभर खेलहरू निकै प्रतिस्पर्धात्मक र आकर्षक बनेका थिए। सभापति बुढाका अनुसार यस्ता प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्न र खेलकुदप्रति युवाको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
आकास सुनार



