तिलाको डुङ्र्ग्री गाउँमा न सडक पुग्यो, न विजुली

उज्यालोको पर्खाइमा झरो र टुकिको भरमा गुजार्दै दैनिकी

जुम्ला — तिला गाउँपालिका – ५ डुङ्ग्री गाउँ अझै पनि अन्धकारमै छ । एउटै वडाभित्रका चुलाकोट, खोलिगाउँ र ढिम्कोटमा झण्डै एक वर्षअघि नै विद्युतले उज्यालिए पनि सोही वडाको डुङ्ग्री गाउँमा भने अहिलेसम्म बत्ती बल्न सकेको छैन । गाउँसम्म विद्युतका पोल विस्तार गरिएको पनि एक वर्षभन्दा बढी भयो । तर लाइन जडान नहुँदा स्थानीयवासी निरासामा परेका छन् ।
विद्युत् जस्तो आधारभूत सेवाबाट वञ्चित हुँदा यहाँका बासिन्दा अझै झरो र टुकीको भरमा दैनिक जीवन चलाइरहेका छन् । साँझ पर्नासाथ गाउँ पूरै अन्धकारमा डुब्ने गर्दछ । जसले विशेषगरी बालबालिकाको पढाइ–लेखाइमा गम्भीर असर पारेको छ ।

अँध्यारोमै बस्नुपर्दा उज्यालोको अनुभूति गर्न पाएका छैनौं, साँझ किन पर्छ जस्तो लाग्छ,” एक स्थानीयले गुनासो गरेका छन् । उनले थपे, “हाम्रो जिन्दगी त अन्धकारमै बित्यो, अब नानीबाबुको भविष्य पनि अन्धकारमै सीमित हुने हो कि भन्ने चिन्ता लाग्छ ।
डुङ्ग्री गाउँ भौगोलिक रूपमा निकै विकट र टाढा क्षेत्रमा पर्ने भएकाले यहाँ उत्पादन हुने रैथाने बालीहरू—फापर, सिमी, गहुँ, मकै, जौ, कोदो, चिनो, कागुनो, भटमासलगायत— बालीहरु उत्पादन हुदा पनि उचित बजारीकरण हुन सकेको भने छैन ।
उत्पादन भए पनि बजारसम्म पु¥याउने सहज बाटो नहुँदा किसानहरू आर्थिक रूपमा पछाडि परेका छन् । सडक सञ्जालको अभावका कारण सामान्य सेवा–सुविधा लिनसमेत स्थानीयलाई घण्टौँ उकालो–ओरालो हिँड्नुपर्ने बाध्यता छ ।


वडा कार्यालय चुलाकोट गाउँमा छ । त्यहाँ पुग्न चार–पाँच घण्टा लाग्छ, अर्का एक स्थानीयले भने, “गाउँपालिका पुग्न त पैदलै दिनभर लाग्छ । बिरामी पर्दा, काम पर्दा, सबै कुरामा निकै दुःख हुन्छ ।” उनका अनुसार यातायात, स्वास्थ्य, शिक्षा र सञ्चारजस्ता आधारभूत सेवाको अभावले डुङ्ग्रीबासीको दैनिकी झन् कष्टकर बनेको छ ।


स्थानीयका अनुसार विद्युतका पोल गाडिएपछि छिट्टै बत्ती बल्ने आशा गरिएको थियो, तर लामो समय बित्दा पनि काम अघि नबढ्दा उनीहरू निराश छन् । सम्बन्धित निकायसँग पटक–पटक आग्रह गर्दा पनि ठोस पहल नभएको गुनासो उनीहरूको छ ।
वर्षौँदेखि आधारभूत पूर्वाधारबाट वञ्चित डुङ्ग्री गाउँका बासिन्दाले अब भने ढिलाइ नगरी विद्युत् सेवा सञ्चालन गर्न, सडक विस्तार गर्न र उत्पादनको बजारीकरणका लागि पहल गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूको एउटै प्रश्न छ—अझै कति समयसम्म अन्धकारमै बस्नुपर्ने हो

आकाश सुनार

प्रकाशित मिति : २०८३ बैशाख २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस