एचआईभी सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणका लागि अभिमुखिकरण तथा अन्तरक्रिया सम्पन्न

जुम्ला । एचआईभी संक्रमित व्यक्तिहरूमाथि हुने लाञ्छना तथा भेदभाव कम गर्ने उद्देश्यले जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा शनिबार अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा एचआईभी संक्रमित व्यक्तिहरूप्रति समाजमा अझै पनि नकारात्मक सोच, विभेदपूर्ण व्यवहार र गलत धारणाको प्रभाव कायम रहेको विषयमा छलफल गरिएको थियो। सहभागीहरूलाई एचआईभी सम्बन्धी सचेतना, रोकथाम, संक्रमित व्यक्तिको अधिकार तथा सामाजिक उत्तरदायित्वका विषयमा जानकारी प्रदान गरिएको थियो।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज जैशीले विशेषगरी ग्रामीण क्षेत्रमा एचआईभी सम्बन्धी भ्रम र गलत बुझाइ अझै रहेको बताए। उनले स्थानीय तहबाट जनचेतनामूलक कार्यक्रम सञ्चालनसँगै आवश्यक स्रोत व्यवस्थापनमा ध्यान दिइने बताए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले संक्रमित व्यक्तिमाथि हुने कुनै पनि प्रकारको दुर्व्यवहार स्वीकार्य नहुने बताए। उनले मानवअधिकारमैत्री व्यवहार र संवेदनशीलताको विकासका लागि सुरक्षाकर्मीहरूलाई समेत थप प्रशिक्षण आवश्यक रहेको उल्लेख गरे।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले एचआईभी संक्रमित व्यक्तिलाई हेर्ने समाजको दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको बताए। रोग लाग्नु अपराध नभए पनि समाजबाट हुने अपमान र विभेदले संक्रमितहरूलाई मानसिक रूपमा कमजोर बनाइरहेको उनको भनाइ थियो।

प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले संक्रमित व्यक्तिको गोपनीयता र मानवअधिकारको संरक्षण राज्यको जिम्मेवारी भएको बताए। उनले संक्रमितलाई बहिष्कृत गर्ने वा सेवा सुविधाबाट वञ्चित गर्ने कार्य कानुनविपरीत हुने स्पष्ट पारे।

प्रकाशित मिति : २०८३ जेष्ठ ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस