जुम्ला । गैरसरकारी संस्था महासंघ जिल्ला शाखा जुम्लाको छैटौं जिल्ला साधारणसभा सम्पन्न भएसँगै नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ। आइतबार सम्पन्न सभाले टेकबहादुर रावतको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ समिति गठन गरेको हो।
नवगठित समितिको उपाध्यक्षमा भरत नेपाली, सचिवमा लोकेन्द्र न्यौपाने र कोषाध्यक्षमा मुनि प्रसाद न्यौपाने चयन भएका छन्। साथै सदस्यहरूमा कमल महत, उत्तम श्रेष्ठ लगायतका प्रतिनिधिहरू रहेका छन्।
साधारणसभामा जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूको वर्तमान अवस्था, उनीहरूको सामाजिक विकासमा भूमिका, सुशासन प्रवर्द्धन, संस्थागत पारदर्शिता र समन्वय सुदृढीकरणका विषयमा गहिरो छलफल गरिएको थियो। सहभागीहरूले साझा उद्देश्यका लागि एकताबद्ध भएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
नवनिर्वाचित अध्यक्ष टेकबहादुर रावतले महासंघलाई अझ गतिशील, जवाफदेही र परिणाममुखी बनाउने प्रतिबद्धता जनाए। उनले जिल्लाका गैरसरकारी संस्थाहरूको हकहित संरक्षण गर्दै विकास र सामाजिक रूपान्तरणका क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने बताए।
विपद् व्यवस्थापन, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा महासंघले समन्वयात्मक ढंगले काम गर्नेछ।
निवर्तमान अध्यक्ष अमर बहादुर रोकायाले आफ्नो कार्यकालमा साथ दिने सबै संस्था र सरोकारवालाप्रति आभार व्यक्त गर्दै महासंघलाई साझा मञ्चका रूपमा अघि बढाउन सफल भएको उल्लेख गरे।



