गिडिदह पर्या पर्यटन प्रर्बधन र जलवायु सम्मेलन सम्पन्न , १५ बुँदे घोषणापत्र सार्वजनिक

जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदहमा पहिलो पटक पर्या–पर्यटन तथा जलवायु सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले दिगो पर्यटन विकास, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणलाई केन्द्रमा राख्दै गिडिदह पर्यटन प्रवर्द्धन तथा जलवायु घोषणापत्र–२०८३ जारी गरेको छ।


‘प्रकृति हेरौँ, महसुस गरौँ, पर्यापर्यटन प्रवर्द्धनमा जुटौँ’ भन्ने नारासहित आयोजित सम्मेलनमा स्थानीयवासी, विद्यार्थी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। सम्मेलनबाट जारी १५ बुँदे घोषणापत्रमा गिडिदह र आसपासका जलाधार क्षेत्रको संरक्षण, वन्यजन्तुको बासस्थान जोगाउने, जैविक विविधताको संरक्षण गर्ने तथा चरण क्षेत्रको व्यवस्थित उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।


वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार गिडिदहलाई वातावरणमैत्री पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्लास्टिक निषेध क्षेत्र घोषणा गर्ने, शून्य फोहोर व्यवस्थापन रणनीति लागू गर्ने तथा पदमार्ग निर्माणलाई पूर्णता दिने योजना अघि सारिएको छ। पर्यटकका लागि निर्माण गरिने पूर्वाधारमा कंक्रिट र सिमेन्टको प्रयोगलाई न्यून गर्दै प्रकृतिमैत्री संरचनालाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।


सम्मेलनले स्थानीय आर्थिक विकासलाई पर्यटनसँग जोड्ने लक्ष्य पनि लिएको छ। रैथाने गाउँहरूमा सामुदायिक होमस्टे सञ्चालन, स्थानीय कला–संस्कृति, भेषभूषा तथा अर्गानिक खाद्य परिकारको प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरिएको छ। साथै युवालाई ‘क्लाइमेट गाइड’ का रूपमा परिचालन गरी रोजगारी सिर्जना गर्ने रणनीति पनि अघि बढाइएको छ।


घोषणापत्रमा रैथाने कृषि प्रणालीको संरक्षण, खाद्य सुरक्षाको प्रवर्द्धन, वन तथा जडीबुटी संरक्षण, डढेलो नियन्त्रण र जलवायु अनुकूलन कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता समेटिएको छ। जलवायु न्यायका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय बढाउने विषयमा समेत जोड दिइएको छ।


सम्मेलनका अवसरमा विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता र जिल्ला स्तरीय खुला देउडा प्रतियोगिता आयोजना गरिएको थियो। यस्ता कार्यक्रममार्फत जलवायु परिवर्तनका चुनौती र समाधानका उपायबारे जनचेतना फैलाउने प्रयास गरिएको आयोजकले जनाएको छ।


कार्यक्रममा बोल्दै पूर्वमन्त्री माधव चौलागाईंले हिमाली क्षेत्रका प्राकृतिक सम्पदा, जडीबुटी र जैविक विविधताको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले गिडिदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न राज्यका तीनै तहका सरकारको समन्वित प्रयास आवश्यक रहेको धारणा राख्नुभयो। गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले गिडिदहको प्रचारप्रसार र विकासका लागि स्थानीय सरकारले विभिन्न योजना अघि बढाएको जानकारी दिनुभयो।


समुद्री सतहबाट ३ हजार ४८५ मिटर उचाइमा अवस्थित गिडिदह प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक महत्वका कारण जुम्लाको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। दहको लम्बाइ १ हजार ५१० मिटर, चौडाइ ३१० मिटर तथा गहिराइ ४२.८ मिटर रहेको छ। हालसम्म पदमार्ग, धर्मशाला, सूचना बोर्ड, वातावरणीय अध्ययन तथा अन्य पूर्वाधार निर्माणमा लाखौँ रुपैयाँ लगानी भइसकेको जनाइएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस