जिल्ला प्रशासन कार्यालय जुम्ला तथा जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाको समन्वयमा शुक्रबार जिल्ला स्तरीय विपद् सिकाइ तथा अन्तरक्रिया बहस कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार, राहत तथा पुनर्स्थापनासम्बन्धी विषयमा छलफल गरिएको थियो।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका क्षेत्रमा प्रशासन पूर्ण जिम्मेवारीका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी चिरञ्जीवी दाहालले विपद्का बेला सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
कार्यक्रममा स्थानीय तहहरूले आफ्नो क्षेत्रमा रहेका प्रमुख विपद्का जोखिम तथा न्यूनीकरणका लागि गरिएका प्रयासबारे प्रस्तुतीकरण गरेका थिए। सिंजा गाउँपालिकाले बाढीपहिरो, भूकम्प, आगलागी, चट्याङ, जनावर आतंक, महामारी तथा खडेरीलाई प्रमुख विपद्का रूपमा पहिचान गरेको जनाएको छ।
सिंजा गाउँपालिकाले विपद् व्यवस्थापन समिति गठन, विपद् व्यवस्थापन कोष स्थापना, वातावरण तथा विपद् व्यवस्थापन शाखा सञ्चालन, पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण, भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी तालिम सञ्चालन, विपद् प्रभावितका लागि राहत वितरण तथा पूर्वसूचना प्रणाली जडानलगायतका कार्यहरू सम्पन्न गरेको जानकारी दिएको छ।
त्यस्तै, चन्दननाथ नगरपालिकाले चालु आर्थिक वर्षमा विपद् व्यवस्थापनका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ। सिंजा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा २५ लाख रुपैयाँ विपद् व्यवस्थापनका लागि विनियोजन गरेको जानकारी गराएको छ।
तातोपानी गाउँपालिकाले भौगोलिक विकटता, बजेट अभाव, पूर्वाधारको कमी, जलवायु परिवर्तन र पूर्वजानकारीको अभावलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गर्दै जोखिम पहिचान, पूर्वसूचना प्रणाली, क्षमता विकास, उद्धार तथा राहत व्यवस्थापन, पुनर्स्थापना र नियमित अनुगमनलाई आगामी कार्ययोजनामा समेटेको जनाएको छ।
कार्यक्रमको खुला सत्रमा पत्रकार सागर परियारले जुम्लामा प्रभावकारी विपद् न्यूनीकरणका लागि वातावरणमैत्री विकास आवश्यक रहेको धारणा राखे। तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहबाट आवश्यक पहल गर्न आफूहरू तयार रहेको बताए।



