जुम्ला । नेपाल टेलिकमले देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालको मनोरम दृश्यावलोकन स्थल मुर्माटप मा फोरजी (4G) मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। असार १५ गतेदेखि सुरु भएको यस सेवाले मुर्माटप क्षेत्रसँगै त्यस आसपासका ट्रेकिङ मार्गमा समेत भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउने भएको छ।
रारा राष्ट्रिय निकुञ्जभित्र अवस्थित मुर्माटप रारातालको अनुपम दृश्य, हिमशृंखला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका प्राकृतिक सौन्दर्य अवलोकनका लागि प्रसिद्ध गन्तव्य हो। रारातालबाट केही घण्टाको पदयात्रापछि पुगिने यस स्थानमा अब उच्च गतिको मोबाइल इन्टरनेट सेवा उपलब्ध भएपछि पर्यटक, पदयात्री तथा स्थानीय बासिन्दाले सहज सञ्चार सुविधा प्राप्त गर्नेछन्।
फोरजी सेवा विस्तारसँगै पर्यटकहरूले आफ्ना यात्रा अनुभव, तस्बिर, भिडियो तथा प्रत्यक्ष प्रसारण (लाइभ) सामाजिक सञ्जालमार्फत तुरुन्तै साझा गर्न सक्ने भएका छन्। नेपाल टेलिकमका अनुसार यस सेवाले रारा क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
त्यस्तै, स्थानीय होटल, होमस्टे, पर्यटन व्यवसायी तथा सर्वसाधारणले पनि विभिन्न डिजिटल सेवाको सहज उपयोग गर्न सक्नेछन्। यसबाट स्थानीय व्यापार–व्यवसाय, अनलाइन सेवा र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
नेपाल टेलिकमले जडान गरेको उक्त टावरले मुर्माटपमा मात्रै सेवा नदिई हुम्ला, बाजुरा लगायतका दुर्गम हिमाली जिल्लाहरूमा दूरसञ्चार सेवा विस्तारका लागि रिपिटर स्टेशन को रूपमा समेत काम गर्ने जनाएको छ। यसबाट कर्णाली र सुदूरपश्चिम प्रदेशमा मोबाइल तथा डाटा सेवाको गुणस्तर र पहुँच थप प्रभावकारी बन्ने विश्वास गरिएको छ।
मुर्माटपमा फोरजी सेवा सञ्चालनसँगै रारा भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकले अब दुर्गम हिमाली क्षेत्रमा समेत आधुनिक र भरपर्दो सञ्चार सेवाको सुविधा अनुभव गर्न सक्नेछन्।
फोटो स्रोत रातो पाटी




