जुम्ला । जुम्लामा सिँचाईदेखी व्यवस्थित तट्बन्धनको अभावले खेतीयोग्य जमिन बाँझिनुका साथै क्षयीकरण हुदैँ आएको छ । २०७९ सालको भिषण बाढी पहिरोपछि जुम्लाको कृषि क्षेत्रमा ठुलो क्षति पुराएको छ । त्यतिबेला आएको भिषण बाढीले जुम्लाका झण्डै चार सयबढी सिँचाई कुला भत्कीएका थिए ।
१८ हेक्टर भन्दा बढी मार्सीफाँट बगरमा परिणत भएको थियो । खेतीपातीमा समस्या झेल्दै आएका तातोपानी गाउँपालिकाका किसानले व्यवस्थित तटबन्धन र सिँचाई कुला निर्माणपछि राहत महसुश गरेका छन् । असार दोस्रो सातामा पालिकाकी उपाध्यक्ष रेवती रावलको संयोजकत्वमा सम्पन्न योजनाका स्थलगत अनुगमनमा योजनाको दिगोपना,संरक्षण तथा सदुपयोगमा ध्यान दिन सुझाव दिइएको छ ।
२०७९ को बाढी पहिरोले तातोपानी गाउँपालिकाका आठ वटै वडाको कृषि क्षेत्रमा क्षति गरेको थियो । सिँचाई असुविधा र व्यवस्थित तटबन्धनको अभावले खेतीयोग्य जमिन क्षयीकरण हुने र बाँझिने समस्या बढेको स्थितीमा तातोपानी गाउँपालिका र जलवायू परिवर्तन स्थानीय अनुकूलन (लक) परियोजनाले तट्बन्धन र सिँचाई कुलो निर्माण गरेपछि खेतीपातीमा सहज भएको तातोपानी गाउँपालिका वडा नं.६ रावतबाडाका भीम बहादुर कामीले बताए ।
उनले भने,‘विगतको बाढी पहिरोले रावतबाडा, खंकबाडा, धौलापानी गाउँका किसानको खेतमा सिँचाई हुने सिँचाई कुलोमा क्षति पुगेको थियो । सिँचाईको समस्या झेल्दै आयौ । छोटो समयमा पालिका र लक परियोजनाको लगानीमा सिँचाई तथा तट्बन्धन निर्माण हुँदा धान रोप्न ढुक्का भयो ।’

त्यस्तै विगतमा आएको बाढी तातोपानी–१ राँकाको रामिजिउलोको खेतीयोग्य जमिन बगाएको थियो । नदी छेउमै रहेको रामिजिउलोमा बाढीले जमिन बगाएपछि चिन्तामा रहेका किसानको राहतका लागि व्यवस्थित तट्बन्धन निर्माण गरिएको छ । तट्बन्धन निर्माण गरिएपछि खेतीयोग्य जमिन सुरक्षित हुने भएपछि किसान उत्साहित भएको किसान कालो कामीको भनाई छ ।
गत वैशाख महिनाबाट तातोपानीमा संचालनमा आएको लक परियोजनाले पालिका संगको लागत साझेदारीमा पाँच वटा सिँचाई कुलोदेखी तट्बन्धनका योजना निर्माण गरेको लक परियोजना अधिकृत हरि गोपाल चौलागाईले बताए ।
उनका अनुसार तटबन्धन, सिँचाइ कुलो, मुल संरक्षण, मार्सी जिउलो संरक्षण तथा खेतीयोग्य जमिन जोगाउन बायो ईन्जिनियरिङ र तटबन्धन गरी पाँच वटा योजना निर्माण सम्पन्न भएको छ । पाँच वटै योजनाको अन्तिम अनुगमन गरी भुक्तानी समेत भईरहेको छ ।
पाँच वटा योजना निर्माणका लागि ६२ लाख ५० हजारबढी लगानी भएको लक परियोजना अधिकृत चौलागाँईले जानकारी दिए । जसमा हाँकु मार्सी धान खेती हुने जिउलो संरक्षण तथा बायो ईन्जिनियरिङ निर्माणमा १६ लाख ६२ हजार ३२९, पानीखोला मुल संरक्षण योजनामा ४ लाख ६८ हजार ८६६ रुपैयाँ लगानी भएको छ ।
भने, धौलापानी सिँचाई योजना निर्माणमा कुल १५ लाख ५३ हजार १५५, बाटाघट्ट तट्बन्धन निर्माणमा १२ लाख १६ हजार ८८६ र रामिज्युला तट्बन्धन निर्माणमा १३ लाख २४ हजार ८६९ रुपैयाँ गरी कुल पाँच योजना निर्माण लागि कुल ६२ लाख ५० हजारबढी लगानी भएको छ ।
पाँच वटा योजनाबाट कुल ७०१ जना किसान प्रत्यक्ष लाभान्वित भएका छन् । जसमा धौलापानी खानेपानी आयोजनाबाट २५७ जना स्थानीय किसानको प्रत्यक्ष लाभान्वित भएको लक परियोजनाको तथ्यांकमा उल्ल्लेख छ । विशेषगरी जलवायु परिवर्तन अनुकुलन (लक) परियोजनाले खानेपानी विकास संगै, सिँचाई,तटबन्धन, बानीबानी सुधार लगायतका क्षेत्रमा उल्ल्ेखीय काम गर्दै आएको छ ।
यता तातोपानी गाउँपालिकाले लक परियोजनासंगैको सहकार्यमा पालिकाले कृषि क्षेत्रलाई प्रथामिकता दिदै सिँचाई सुविधा विस्तारदेखी, तटबन्धन, मुहान संरक्षणमा जोड दिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताए ।
‘स्थानीयस्तरबाट माग भई आएकै योजनालाई प्रथामिकीकरण, उपभोक्ताको उपलब्धता अनुसार योजना बनाएका छौ,’उनले भने,‘विशेषगरी वर्षौदेखी पानी अभावले काकाकुल बनेका दुगर्म गाउँमा पानी पुराउन प्रथामिता दिएका छौ । तटबन्धनदेखी, सिचाई कुलोको अत्याआबश्यक रहेकाले नागरिकनै सक्रिय रहेका छन् ।’ भने केही योजना निर्माण भएर पनि भुक्तानी भईसकेको छ । आगामी दिनमा कृषि केन्द्रित गतिविधि संचलानमा ल्याईने अध्यक्ष चौलागाँईले उल्लेख गरे ।




