जुम्ला । फरक–फरक मितिमा महोत्सव आयोजना गर्ने घोषणा गरेका उद्योग वाणिज्य संघ जुम्ला र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जुम्ला शाखाले अन्ततः संयुक्त रूपमा महोत्सव आयोजना गर्ने निर्णय गरेका छन्। स्थानीय सरोकारवालाको सुझाव र जनस्तरबाट आएको प्रतिक्रियापछि दुवै संस्था सहकार्यमा अघि बढ्न सहमत भएका हुन्।
उद्योग वाणिज्य संघले साउन २२ देखि भदौ ५ गतेसम्म महोत्सव गर्ने तयारी गरेको थियो भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्ला शाखाले साउन ७ देखि १६ गतेसम्म छुट्टै महोत्सव गर्ने घोषणा गरेको थियो। एउटै जिल्लामा छोटो समयको अन्तरालमा दुई महोत्सव आयोजना हुने भएपछि सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म यसको औचित्यमाथि प्रश्न उठेको थियो।
यसै सन्दर्भमा साउन १३ गते बसेको दुवै संस्थाको संयुक्त छलफलले सहआयोजनाको निर्णय गरेको हो। प्रतिष्ठान जुम्लाका अध्यक्ष विश्वराज खत्रीले संयुक्त महोत्सवले जुम्लाको कला, संस्कृति, व्यापार र पर्यटनलाई एउटै मञ्चबाट प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।
संयुक्त महोत्सवका लागि खुलातर्फ प्रतिव्यक्ति प्रवेश शुल्क २०० रुपैयाँ र बालबालिका तथा ज्येष्ठ नागरिकका लागि १५० रुपैयाँ निर्धारण गरिएको छ। महोत्सव आयोजना हुने मिति भने दुवै संस्थाको अन्तिम सहमतिपछि सार्वजनिक गरिने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष दिलबहादुर रोकायाले जानकारी दिए।
यसैबीच, उद्योग वाणिज्य संघ जुम्लाका पूर्व अध्यक्ष गोविन्द शाहीले महोत्सवलाई सफल बनाउन सबै सरोकारवालाको साझा अपनत्व आवश्यक रहेको बताए। उनले पत्रकार महासंघ जुम्लालगायत सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढे महोत्सव थप प्रभावकारी बन्ने धारणा राखे। “सबै पक्ष एक ठाउँमा उभिए मात्रै महोत्सवले अपेक्षित उपलब्धि दिन सक्छ,” उनले भने।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष पूर्ण चौलागाईंले भने महोत्सव सम्पन्न भएपछि आयोजकले अनिवार्य रूपमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने सुझाव दिए। उनका अनुसार सार्वजनिक सुनुवाइले आर्थिक तथा व्यवस्थापकीय पक्षबारे नागरिकलाई जानकारी गराउनुका साथै आयोजकको पारदर्शिता र जवाफदेहितालाई थप मजबुत बनाउनेछ।




