रातको समय ट्राफिक प्रहरी बने जीवनदाता: सहायक हवल्दार दीपक खत्रीको रक्तदानले बच्यो सुत्केरीको ज्यान

जुम्ला — मानवताको सबैभन्दा ठूलो धर्म सेवा हो भन्ने भनाइलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लामा कार्यरत सहायक हवल्दार दीपक खत्रीले व्यवहारमै प्रमाणित गरेका छन्।


जयतपुरकी हिमाली सार्कीलाई सुत्केरी हुदा आकस्मिक रूपमा रगतको अत्ति आवश्यकता परेपछि रातको समयमा रक्तदाता खोज्न कठिन भइरहेको थियो। उक्त जानकारी पाएलगत्तै सहायक हवल्दार खत्री राति करिब ११ बजे आफ्नै कार्यालयबाट अस्पताल पुगेर तत्काल रक्तदान गरेका हुन्।


समयमै गरिएको रक्तदानपछि आवश्यक रगत उपलब्ध भई सुत्केरीको उपचारलाई निरन्तरता दिन सहज भएको बताइएको छ। संकटको घडीमा कुनै ढिलाइ नगरी गरिएको उनको यो मानवीय सेवाले एक परिवारमा आशाको किरण जगाएको छ।


प्रहरीको जिम्मेवारी शान्ति सुरक्षा कायम गर्नु मात्र नभई आवश्यकता पर्दा नागरिकको जीवन बचाउन पनि अग्रसर हुनु हो भन्ने उदाहरण सहायक हवल्दार खत्रीले प्रस्तुत गरेका छन्। रातको विश्राम त्यागेर एक अपरिचित नागरिकका लागि गरिएको यो रक्तदानले मानवता अझै जीवित छ भन्ने सन्देश दिएको छ।

सहायक हवल्दार खत्रीले आफूले यसअघि पनि आवश्यकता परेका धेरै बिरामीका लागि रक्तदान गरिसकेको बताए। “रक्तदान गर्न पाउँदा सन्तुष्टि मिल्छ। मेरो रगतले कसैको जीवन बच्न सक्छ भने आवश्यक पर्दा म सधैं तयार छु,” भन्ने उनको भनाइ छ।

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस