रारा राष्ट्रिय निकुञ्जमा पहिलोपटक सूचना केन्द्र सञ्चालनमा

रारा राष्ट्रिय निकुञ्जको जैविक विविधता, पर्यटकीय क्षेत्र तथा संरक्षणसम्बन्धी जानकारी एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र स्थापना गरिएको हो।

मुगु जिल्ला मा अवस्थित राष्ट्रिय निकुञ्ज भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आवश्यक सूचना सहज, व्यवस्थित र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले ‘रारा सूचना केन्द्र’ (Rara Information Centre) को स्थापना गरिएको छ।

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-९ स्थित रारा तालको डुङ्गा स्टेशन नजिक स्थापना गरिएको उक्त सूचना केन्द्रको आज एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको हो।


नेपाली सेनाको श्री नं. २४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री सुधीर प्रताप सिंहले केन्द्रको विधिवत् उद्घाटन गर्नुभएको हो। रारा निकुञ्जको सुरक्षा र संरक्षणमा खटिएको नेपाली सेनाको श्री हनुमानध्वज गुल्मको विशेष पहल तथा जिल्लास्थित अन्य सरोकारवाला निकायहरूको सक्रिय सहयोगमा यो केन्द्र स्थापना गरिएको हो। नेपाली सेनाको तैनाथी अवधिमा रारामा यस प्रकारको सूचना केन्द्र स्थापना भई सञ्चालनमा आएको यो पहिलो पटक हो।


यस्ता छन् केन्द्रका विशेषता र उपलब्ध सामग्रीहरू:
भौगोलिक तथा वस्तुस्थिति जानकारी: मुगु जिल्लाको समग्र वस्तुस्थिति र रारा राष्ट्रिय निकुञ्ज सम्बन्धी विविध जानकारीमूलक सामग्रीहरू।


पर्यटक मार्ग (Trail Map): रारा क्षेत्र घुम्न चाहने पर्यटकहरूका लागि स्पष्ट गाइड र ट्रेल म्याप।
मौसम तथा जलवायु: रारा क्षेत्रको तत्कालीन मौसम र जलवायु सम्बन्धी अपडेट।


आपतकालीन सेवा: पर्यटकहरूको सुरक्षालाई ध्यानमा राख्दै आपतकालीन सम्पर्क नम्बरहरूको व्यवस्था।
डकुमेन्ट्री प्रदर्शन: रारा राष्ट्रिय निकुञ्जको सुरक्षा तथा संरक्षणमा नेपाली सेनाले निर्वाह गरेको भूमिका समेटिएको वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शन गर्ने योजना।


उद्घाटन समारोहमा मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीको उपस्थिति रहेको थियो। त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, रारा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा रारा ताल डुङ्गा व्यवस्थापन समितिका प्रमुखहरू र स्थानीय बासिन्दाहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।


रारा राष्ट्रिय निकुञ्जको अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा पर्यटनको प्रचुर सम्भावनालाई मध्यनजर गर्दै यो केन्द्र स्थापना गरिएको हो। यस केन्द्रको सञ्चालनले रारा भ्रमणमा आउने पर्यटकहरूलाई आवश्यक जानकारी सजिलै प्राप्त हुने मात्र नभई, समग्र रारा क्षेत्रको पर्यटनलाई सुरक्षित, व्यवस्थित र सूचनामूलक बनाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस