रसुवा बाढीपीडित कोषमा गुठिचौरको १२ लाख ६७ हजार रुपियाँ

जुम्लाका सहयोगीदाताको १६ लाख ५१ हजार ५६१ रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

जुम्ला – गुठिचौर गाउँपालिका जुम्लाले रसुवा बाढीपीडित कोषमा १२ लाख ६७ हजार ३४८ रुपियाँ सहयोग गरेको छ । भदौ १० गते आएको बाढीले ठुलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो ।


गाउँ कार्यपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार सहयोग रकममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट संकलित रकम समावेश गरिएको छ । गाउँपालिकाले भोटेकोशी क्षेत्रमा भएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपहिरोमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।

घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्लले विपदको पीडामा परेका नागरिकलाई स्थानीय तहको तर्फबाट सक्दो सहयोग गर्नु मानवीय दायित्व भएको बताइन् ।


रसुवामा भएको क्षतिले देशभरका नागरिकलाई दुःखी बनाएको उल्लेख गर्दै उनले प्रभावित परिवारको उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापले विपदका बेला राहत तथा उद्धारका कामलाई प्रभावकारी बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए ।


गाउँपालिकाले उपलब्ध स्रोतबाट सहयोग जुटाएर पीडितसम्म राहत पु¥याउने प्रयास गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा समन्वयका लागि तयार रहेको उनको भनाइ छ । यसैबीच, गुठिचौर गाउँपालिकाले आफ्ना नागरिकका हकमा पनि खोज तथा उद्धारका लागि थप सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको विज्ञप्तिमा भनिएको छ, जन्मघर गाउँपालिकासँग सम्बन्धित एक व्यक्तिका लागि ७५ हजार रुपैयाँका दरले ९ जनालाई कुल ६ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ । गाउँपालिकाले विपद् प्रभावितप्रति एक्यबद्धता जनाउँदै नागरिक तथा सहयोगी निकायलाई समेत राहत र पुनःस्थापनाका लागि सहयोग गर्न आग्रह गरेको छ ।


यसैगरी, जुम्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा सनलाइट इलेक्ट्रोनिक्स एण्ड मोबाइल पसलका सञ्चालक बालकृष्ण बुढाक्षेत्रीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । जुम्लाकै व्यवसायी तथा सिवालय ट्रेडर्स एण्ड हाउस सप्लायर्सका सञ्चालक देवेन्द्रराज उपाध्यायले ५५ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, युवा व्यवसायी तथा डि.के. स्टेप इन फेसन सेन्टरका सञ्चालक दिनेश खड्काले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।


उद्योग बाणिज्य संघ जुम्लाले एक लाख एक हजार रुपियाँ, जुम्ला हार्डवयरका युवा व्यवसायी रविन्द्र महतले ५५ हजार ५५५ रुपियाँ र जुम्ला हार्डवयरका स्टाफले ४८ हजार ५ सय रुयियाँ राहत कोषमा जम्मा गरेका छन् । समाजसेवी किशोर न्यौपानेले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपियाँ जम्मा गरेका छन् ।


विपद्को समयमा स्थानीय सरकार, व्यवसायी तथा नागरिकस्तरबाट भएको सहयोगले प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस