जुम्ला । सार्वजनिक बिदाको दिन सवारी नियम उल्लङ्घन गर्दै सञ्चालन गरिएका सात वटा सरकारी मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ।
शनिबार जिल्ला प्रहरी कार्यालय जुम्लाबाट ट्राफिकसहित खटिएको प्रहरी टोलीले बजार तथा आसपासका क्षेत्रमा चेकजाँच तथा सवारीसाधन अनुगमन गर्ने क्रममा सरकारी नम्बर प्लेटका मोटरसाइकलहरू नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सार्वजनिक बिदाका दिन बिना स्वीकृति सरकारी सवारीसाधन सञ्चालन गरिएको, आवश्यक कागजात नभएको तथा ट्राफिक नियम पालना नगरेको पाइएपछि ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाले भदौ २७ गते जारी गरेको प्रेस विज्ञप्तिमा सरकारी सवारीसाधन प्रयोगका लागि आवश्यक कागजात, अनुमति तथा प्रयोजन स्पष्ट हुन नसकेपछि मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक छानबिन तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
सरकारी सवारीसाधनको दुरुपयोग रोक्न र सवारी नियमको प्रभावकारी कार्यान्वयन गराउन आगामी दिनमा पनि चेकजाँचलाई थप कडाइ गरिने प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई नियमअनुसार जरिवाना तथा आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र छाडिने जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले जनाएको छ।




