जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक रक्तसञ्चार सेवा अर्थात् ब्लड बैंक सञ्चालनमा आएको छ। लामो समयदेखि रगतको व्यवस्थापनमा समस्या झेल्दै आएका बिरामी तथा आफन्तका लागि सेवा सञ्चालनमा आएसँगै उपचारमा थप सहजता हुने अपेक्षा गरिएको छ।
America Nepal Medical Foundation (ANMF) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) बीचको सहकार्यमा रक्तसञ्चार सेवा स्थापना गरिएको हो। ANMF को महत्वपूर्ण सहयोगमा स्थापना गरिएको उक्त सेवा अब प्रतिष्ठानमै उपलब्ध भएको हो।
यसअघि आकस्मिक अवस्था, शल्यक्रिया, प्रसूति तथा दुर्घटनालगायतका उपचारमा रगत आवश्यक पर्दा बिरामीका आफन्तले रगत खोज्न विभिन्न स्थानमा धाउनुपर्ने अवस्था थियो। कतिपय अवस्थामा जुम्लाबाहिरबाट समेत रगतको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहँदै आएको थियो।
रक्तसञ्चार सेवा सञ्चालनमा आएपछि आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक पर्ने रगत व्यवस्थापनमा सहज हुने प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका निर्देशक डा. विनम्र बिष्टले रक्तसञ्चार सेवा सञ्चालनलाई कर्णालीका नागरिकका लागि आफ्नै ठाउँमा अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।
उनका अनुसार प्रतिष्ठानले बिरामी तथा सेवाग्राहीको आवश्यकता पहिचान गर्दै स्वास्थ्य सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको छ। आवश्यक स्रोत–साधनको अधिकतम उपयोग गर्दै जनतालाई सहज र सुरक्षित स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई निरन्तरता दिइने उनले बताए।
“आज सुरु भएको रक्तसञ्चार सेवा एउटा सुरुवात मात्र हो,” निर्देशक बिष्टले भने, “आगामी दिनमा कर्णालीका नागरिकले आफ्नै ठाउँमा सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले थप सेवा विस्तार गर्दै जानेछौँ।”
विशेषगरी दुर्गम हिमाली क्षेत्रबाट उपचारका लागि आउने बिरामीका लागि रक्तसञ्चार सेवा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। प्रसूति, दुर्घटना, शल्यक्रिया तथा आकस्मिक उपचारका क्रममा तत्काल रगत आवश्यक पर्ने अवस्थामा सेवाले उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने प्रतिष्ठानको विश्वास छ।
सेवा स्थापना तथा सञ्चालनमा सहयोग पुर्याएकोमा प्रतिष्ठानले ANMF सहित चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।
रक्तसञ्चार सेवा सुरु भएसँगै जुम्लामा उपचारका क्रममा आवश्यक रगतका लागि बाहिरी स्थानमा निर्भर हुनुपर्ने अवस्थालाई कम गर्ने दिशामा KAHS ले महत्वपूर्ण कदम अघि बढाएको छ।




