जन्मभूमि जुम्लामै नयाँ चित्रकार जन्माउने अभियानमा चित्रकार बिराज भण्डारी

विद्यालयपछिको अर्को विद्यालय, जहाँ प्रतिभाले अवसर पाउँछ, सीपले आकार लिन्छ र सिर्जनाले नयाँ पहिचान बनाउँछ।

जुम्ला । आफ्ना चित्रकलामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका चित्रकार बिराज भण्डारी यतिबेला आफ्नै जन्मभूमि जुम्लामा नयाँ पुस्ताका चित्रकार उत्पादन गर्ने अभियानमा जुटेका छन्। चित्रकलालाई व्यक्तिगत प्रतिभामा मात्र सीमित नराखी नयाँ पुस्तामा सीप, सिर्जनशीलता र चित्रकलाप्रतिको रुचि विकास गर्ने उद्देश्यसहित उनी जुम्लालाई चित्रकलाको केन्द्र (आर्ट हब) बनाउने अभियानमा सक्रिय भएका हुन्।

लिफ आर्ट, स्टोन आर्ट, मण्डला आर्ट र पोर्ट्रेट आर्टलगायत विभिन्न विधामा दख्खल राख्ने भण्डारीको विशेष रुचि लिफ आर्टमा छ। प्राकृतिक पातमा ब्लेडको सहायताले सूक्ष्म रूपमा विभिन्न आकृति तथा व्यक्तिचित्र तयार पार्ने उनको सीप विशिष्ट मानिन्छ। सामान्य पातलाई समेत आकर्षक चित्रमा रूपान्तरण गर्ने क्षमताले उनले आफ्नो छुट्टै पहिचान बनाएका छन्।

आफूले सिकेको सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले भण्डारीले चन्दननाथ नगरपालिका–२, कालेखोलीमा RB कला केन्द्र जुम्ला सञ्चालनमा ल्याएका छन्। चित्रकार भण्डारी र नृत्य प्रशिक्षक राज रोकायको संयुक्त पहलमा सञ्चालित केन्द्रले बालबालिका तथा युवाको प्रतिभा पहिचान र व्यक्तित्व विकासलाई प्राथमिकता दिएको छ।

केन्द्रमा चित्रकला तथा सिर्जनात्मक कला, नृत्य, हस्तलेखन, वक्तृत्व तथा सञ्चार सीप र कम्प्युटर शिक्षासम्बन्धी कक्षा सञ्चालन गर्ने लक्ष्य राखिएको छ। नियमित विद्यालय शिक्षासँगै विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसार अतिरिक्त सीप सिक्न पाउने भएकाले केन्द्रलाई ‘विद्यालयपछिको अर्को विद्यालय’ का रूपमा अघि बढाइएको छ।

चित्रकला प्रशिक्षणमार्फत विद्यार्थीलाई रेखाचित्र, रङ संयोजन, आकृति निर्माण र पोर्ट्रेटलगायतका विधामा अभ्यास गराइँदै आएको छ। सानै उमेरदेखि चित्रकलाको अभ्यास गर्दा बालबालिकामा सिर्जनशीलता, धैर्यता, एकाग्रता र आत्मविश्वास विकास हुने चित्रकार भण्डारीको विश्वास छ।

जुम्लामा चित्रकलाप्रतिको रुचि र प्रतिभा भए पनि उचित प्रशिक्षण, अवसर र प्रोत्साहनको अभावमा धेरै सम्भावना ओझेलमा परेको उनको बुझाइ छ। त्यसैले स्थानीय बालबालिका तथा युवालाई आफ्नै ठाउँमा चित्रकला सिक्ने र आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर उपलब्ध गराउनु उनको मुख्य उद्देश्य हो।

भविष्यमा लिफ आर्ट, स्टोन आर्ट, मण्डला आर्ट र पोर्ट्रेट आर्टलगायतका विधामा नियमित प्रशिक्षण, चित्रकला प्रदर्शनी तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै जुम्लालाई चित्रकलाको पहिचान दिलाउने उनको दीर्घकालीन योजना छ।

आफू स्थापित चित्रकार बन्नु एउटा उपलब्धि भए पनि आफ्नै जन्मभूमिमा अरू धेरै चित्रकार जन्माउनु अझ ठूलो उपलब्धि हुने सोचका साथ भण्डारीले यो अभियान अघि बढाएका छन्। RB कला केन्द्रको पहल सफल हुन सके जुम्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउने दक्ष चित्रकार उत्पादन गर्ने केन्द्रका रूपमा समेत स्थापित हुन सक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस