
जुम्ला । जुम्लास्थित एकिकृत अखिल नेपाल शिक्षक संगठन (अन्टाओ) सम्वद्ध शिक्षकहरुले देशभरका शिक्षकहरुलाई कोरोना भ्याक्सिन उपलब्ध गराउन जोडदार माग गरेका छन् ।
कोरोना महामारीले जीवन गुमाएका शिक्षक कर्मचारीको सम्झनामा जुम्लासहित मुलुकभर दीप प्रज्ज्वलन गर्दै शिक्षकले कोरोनाका कारण शिक्षा क्षेत्र निकै प्रभावित भएकोले यथाशीघ्र आफुहरुलाई कोरोना विरुद्धको खोप लगाउन माग राखेका हुन् ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका सचिव जयशंकर धितालले देशभर २५० बढी शिक्षक कर्मचारीले ज्यान गुमाउँदा पनि सरकारले वेवास्ता गरेको दुखेसो गरे । सरकार ! हामी शिक्षण कार्य शुरु गर्न तयार छौं, सचिव धितालले भने, ‘यद्यपि सरकारले हामीलाई बेलैमा कोरोना विरुद्धको खोप लगाइदिनु प¥यो ।’
सयौं बालबालिकाको भीडमा हुने पठनपाठनलाई ध्यानमा राखेर सरकारले जतिसक्दो चाँडो देशैभरका शिक्षकलाई कोरोनाका भ्याक्सिन लगाउनुपर्ने उनको भनाई छ ।



