सुर्खेत ः
सरकारले निर्णय गरेको १० दिनसम्म पनि वनले खाली गरेन भवन
५ माघमा प्रदेश प्रमुख नियुुक्ति भएसँगै प्रदेश प्रमुखको कार्यालयका लागि सरकारले क्षेत्रीय वन कार्यालयको तालिम केन्द्रको भवन तोकेको थियो । तर, अहिले पनि वनले आफ्नो कार्यालय खाली गराएको छैन । त्यहाँका कर्मचारीले पनि अटेर गरिरहेका छन् । तीनतले भवनको पहिलो तलामा प्रदेश प्रमुखका लागि एउटा कोठा तयार गरिएको छ । भवनका अन्य कोठा खाली नगरिदिएका कारण प्रदेश प्रमुखको कार्यालय अस्तव्यस्त छ ।
प्रदेश ६ को प्रदेश सभाको पहिलो अधिवेशन तयारी प्रभावित भएको छ । प्रदेश प्रमुख नियुक्ति गरेको ११ दिन बितिसक्दा पनि सरकारले प्रदेश प्रमुखको कार्यालयलाई आवश्यक बजेट र जनशक्ति उपलब्ध नगराएपछि अधिवेशन तयारी अस्तव्यस्त भएको छ ।
प्रदेश प्रमुख दुर्गाकेशर खनालले २१ माघमा पहिलो अधिवेशन आह्वान गरेका छन् । सिँचाइ डिभिजन कार्यालयमा पहिलो अधिवेशन बस्ने सहमति भएको छ । दलहरूबीच जिल्ला समन्वय समितिको भवन वा सिँचाइ डिभिजनको कार्यालयमा पहिलो अधिवेशन बस्ने भन्ने विवाद थियो । प्रदेश प्रमुखको कार्यालयका सचिव भरत ढुंगानाका अनुसार प्रदेश सभाको स्थायी भवन शैक्षिक जनशक्तिको तालिम केन्द्रमा तोकिए पनि अहिले अस्थायी भवन भने सिँचाइ डिभिजन कार्यालयबाट सञ्चालन भइरहेको छ ।
पहिलो अधिवेशन बस्ने भवनमा रंगरोगन गरिँदै
प्रदेश सभाको पहिलो अधिवेशन बस्ने सिँचाइ डिभिजन कार्यालय भवन अस्थायी रूपमा प्रयोग हुुनेछ । स्थायी रूपमा भने शैक्षिक जनशक्ति तालिम केन्द्रको भवन प्रयोग हुनेछ । सचिव ढुंगानाका अनुसार अस्थायी कार्यालयको भवन र हलका भित्तामा रंगरोगन भइरहेको छ । अधिवेशन हलमा सजावटको काम बाँकी छ । अस्थायी कार्यालय भएकाले कम खर्चमा सजावट र रंगरोगन गरिनेछ । कुर्सी, टेबललगायत सामग्रीको मर्मतसम्भार गरिँदै छ । सिँचाइ भवन करिब ८० जना अटाउन सक्ने क्षमताको छ ।
मन्त्रालयका लागि भवन छैनन्
प्रदेश ६ मा गठन हुने मन्त्रालयका लागि आवश्यक भवन अहिलेसम्म तय हुन सकेको छैन । ‘सरकारले केन्द्रीय मन्त्रालयमातहत रहेका क्षेत्रीय कार्यालय विघटन गरेको जानकारी नदिएको भन्दै कार्यालयहरू खाली भएका छैनन्, जसले गर्दा प्रदेश मन्त्रालयका लागि आवश्यक भवन टुंगो नलागेको हो,’ प्रदेश प्रमुख दुर्गाकेशखर खनालले भने ।
अझै आएनन् कर्मचारी
प्रदेश सभा कार्यालयका लागि सरकारले सरुवा गरेका सबै कर्मचारी अझै आइपुगेका छैनन् । कार्यालयमा दुई उपसचिव, तीन अधिकृत र तीनजना नायब सुब्बा आउनुपर्ने थियो । अहिलेसम्म एकजना अधिकृत मात्रै आएका छन् । जनशक्ति अभावले प्रदेश सभाको अधिवेशन तयारीमा समस्या भएको सचिव भरत ढुंगानाको भनाइ छ ।
भाँचिएको कुर्सीमा सचिव पदभार
प्रदेश प्रमुख कार्यालयका सचिव भरत ढुंगाना स्वयं नै कुर्सी्विहीन छन् । प्रदेश प्रमुखको कोठासँगै जोडिएको सचिवको कोठामा अहिलेसम्म कुर्सी, टेबुल छैनन् । बाहिर घाम ताप्न बसेका कर्मचारीको कुर्सी मागेर ढुंगाना बसिरहेका छन् । ११ माघमा आएका ढुंगानाले भाँचिएको कुर्सीमा पदभार ग्रहण गरेका थिए ।
इन्टरनेट र टेलिफोन छैन
प्रदेश प्रमुख कार्यालयमा अहिलेसम्म इन्टरनेट सुविधा छैन । राष्ट्रपति कार्यालय, सरकारका अन्य निकायबाट आउने निर्दे्शिका तथा पत्रहरू इमेलको अभावमा सचिव ढुंगानाले मोबाइल डाटाबाट काम चलाइरहेका छन् । एकातिर आर्थिक अभाव र अर्का्तिर वन कार्यालयले भवन खाली नगर्दा इन्टरनेटको असुविधा रहेको ढुंगानाको भनाइ छ ।
बजेट नहुँदा चिया पनि उधारोमा ः दुर्गाकेशर खनाल, प्रदेश प्रमुख
२१ माघमा पहिलो अधिवेशन बस्दै छ । तर, प्रदेश प्रमुखको कार्यालय नै अस्तव्यस्त भएकाले धेरै काम गर्न सकिएको छैन । प्रदेश प्रमुखको कार्यालयमा टेलिफोन, इन्टरनेट छैन । सरकारले तोकेको क्षेत्रीय वन कार्यालयको भवन खाली भइसकेको छैन । अहिलेसम्म बजेट आएको छैन, बैंक खातासमेत खोलिएको छैन । कार्यालयमा आउने स्वदेशी–विदेशी पाहुनालाई चियाखाजा पनि उधारोमा चलिरहेको छ । प्रदेशका मन्त्रालय पुराना क्षेत्रीय कार्यालयमा राख्ने तयारी छ, तर सरकारले क्षेत्रीय कार्यालय विघटन नगरेकाले समस्या भएको छ ।
बुधबार १७ माघ २०७४ । नयाँ पत्रिकाबाट साभार