मानदत्त रावल, कर्णाली पोष्ट
जनप्रतिनिधि र सांसदको प्राथमिकता
जुम्ला ः सवारी सञ्चालनमा सुर्खेत–दैलेख–जुम्ला सडक छोटो तथा सहज छ । त्यसैले पछिल्लो समय स्थानीय तह र जनप्रतिनिधिको प्राथमिकतामा सो सडक पर्न थालेको छ । अहिले कर्णालीवासीले कर्णाली राजमार्गको सुर्खेत कालिकोटदेखि जुम्लासम्म २ सय ३६ किलोमिटर यात्रा गरिरहेका छन् । साना सवारीले एक दिनमै गन्तव्यमा र्पुयाउँदै आएका छन् भने ठूला सवारीमा २ दिन लाग्ने गरेको छ ।
लामो दूरी र निकै डरलाग्दो भूगोलका कारण यात्रा गर्न असहज हुने गरेको गोठीचौर गाउँपालिकाका रुद्रबहादुर बुढाले बताए । ‘भिरैभिरको बाटो दुर्घटनाको खतरा मोल्दै यात्रा गर्दासमेत समयमै घरसम्म पुग्न नपाउने बाध्यता छ,’ उनले भने, ‘सुर्खेत, दैलेख हुँदै, जुम्ला सडक निर्माण सम्पन्न भएमा एकै दिनमा जुम्ला र मुगुसम्म यात्रा गर्न सकिने अवस्था छ ।’
७० किलोमिटर छोटो पर्ने
दैलेख हुँदै आएको सडक कर्णाली राजमार्गभन्दा झन्डै ७० किलोमिटर छोटो पर्ने प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले बताए । उनले भने, ‘यो सडक बनेको खण्डमा समयमै गन्तव्यमा पुग्न सहज हुने भएको छ ।’
जुम्लादेखि सडक हेर्दै सुर्खेतसम्म पुगेका प्रतिनिधिसभा सदस्य महतले सबै बाटोको निर्माण सम्पन्न गर्न केन्द्रित हुनुपर्ने बताए । उनले कालिकोटको महावै गाउँपालिका र दैलेखको सिमानाको गाउँपालिकाका अध्यक्षसँग छलफल गरी निर्माण कार्यमा तदारुकता देखाउन सुझाब दिए । यस सडकको ट्र्याक खोल्न दुवै गाउँपालिकाको तयारी छ । महावै गाउँपालिकाको महावुदेखि चिलखायसम्मको झन्डै ३० किलोमिटर सडक निर्माण भएको खण्डमा यो सडकमा साना सवारी आवागमन सजिलो हुनेछ ।