नेपाली अदुवामा भारतीय अवरोध तीन सातापछि हट्यो

मंगलबार, २३ माघ २०७४

काँकडभिट्टा । नेपाली अदुवा निर्यातमा भएको भारतीय अवरोध सोमवार साँझदेखि हटेको छ । नेपाली पक्षको पटक पटकको आग्रहपछि भारतले अदुवा निकासीमा तीन सातादेखि गर्दै आएको अवरोध तत्कालका लागि हटाएकोे हो ।

भारतले नेपाली अदुवामा लगाएको अघोषित प्रतिवन्ध हटाएपछि अदुवा लोड भएका मालवाहक ट्रक भारतको पानीट्याङ्की भन्सारमा जाँचपासको प्रक्रियामा छिरेका छन् । अदुवा लोड भएका २६ वटा ट्रक आवश्यक जाँचपासको प्रक्रिया पूरा गरेर भारततर्फ गएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले भारतीय पक्षले यो सिजनमा अदुवामा अवरोध नगर्ने आश्वासन दिएको बताए । नेपाली उत्पादनको गुणस्तरमाथि प्रश्न उठाउँदै भारतले तीन सातादेखि अदुवा निकासीमा अवरोध गरेपछि ५० ट्रक अदुवा मेची भन्सार परिसरमा अलपत्र परेको थियो । १० दिनसम्म अवरोध नहटेपछि व्यवसायीले अदुवा गोदाममा फर्काएका थिए ।

अदुवा अम्लिसो, अलैँची चिया लगायतका कृषिजन्य उत्पादनमा पटक–पटक भारतले अवरोध गर्दै आएपछि व्यवसायी तथा किसानले आफूहरु मारमा परेको बताउँदै आएका छन् । कृषिजन्य उत्पादनको निर्यात व्यापार सहजीकरणका लागि सरकारको गम्भीरता आवश्यक भएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी सङ्घका अध्यक्ष नरेन्द्रकुमार खड्का बताउँछन् ।

भन्सार एजेन्ट श्याम सुब्बाका अनुसार भन्सारले अदुवा निकासीका लागि भारतीय आयातकर्तालाई अनिवार्य ‘बैंक ग्यारेन्टी’ को व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार सबै आयातकर्ताले अनिवार्य दुई लाख रुपैयाँ वैंक ग्यारेन्टी राख्नुपर्छ । विगतमा १० हजार बैंक ग्यारेन्टी राख्दा भारतीय आयातकर्ताले छुट पाउँदै आएका थिए ।

मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा पूर्वीनाका काँकडभिट्टा हुँदै करिब ११ करोड ५६ लाख मूल्य बराबरको पाँच हजार ८४ मेट्रिक टन अदुवा भारत निकासी भएको छ । अघिल्लो वर्ष २५ करोड रुपैयाँ बराबरको अदुवा भारत निकासी भएको थियो ।

प्रकाशित मिति : २०७४ माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस