प्रदेश ६ का लागि अझै तयार भएनन् मन्त्रालय राखिने भवन

३ फागुन भित्र प्रदेश सरकार गठन हुने भए पनि मन्त्रालय रहने भवन अझै भएनन् तयार –
सुर्खेत ः प्रदेश ६ का सातवटा मन्त्रालयका लागि तत्कालीन क्षेत्रीय प्रशासन कार्यालय, वीरेन्द्रनगरले तीन महिनाअघि नै भवन टुंगो लगाए पनि अहिलेसम्म तयार भएका छैनन् । ३ फागुनभित्रै मुख्यमन्त्री चयन हुँदै छन्, तर सोमबारसम्म कार्यालय भवन खाली गरिएका छैनन् । ‘मुख्यमन्त्री र अन्य मन्त्रालयका लागि भवन टुंगो लागेको भए पनि खाली भएका छैनन्,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले नयाँ पत्रिकासँग भने ।
तीन दिनमै खाली
प्रमुख सचिव प्रधानका अनुसार तीन दिनभित्र सबै कार्यालय खाली गरिने र आवश्यक मर्मतसम्भार, रङरोगन र फर्नि्सिङ गरिनेछ । उनले १० दिनभित्र भवन तयार हुने बताए ।
मन्त्रालय एउटै क्षेत्रमा
घन्टाघरको उत्तरतिर ठूलो क्षेत्रमा लहरै सरकारी कार्यालय छन् । त्यही क्षेत्रमा मन्त्रालयहरू रहनेछन् । आन्तरिक मामिला मन्त्रालय रहने जिल्ला कृषि विकास कार्यालय र आर्थिक मामिला मन्त्रालय रहने क्षेत्रीय शिक्षा निर्देशनालयको भवन सँगै छन् । तिनको उत्तरतिर रहेको क्षेत्रीय वन तालिम केन्द्रको भवनमा प्रदेश प्रमुखको कार्यालय रहनेछ । त्यही लहरमा प्रदेश सभाको भवन र अन्य मन्त्रालय रहनेछन् ।
कुन मन्त्रालय कहाँ बस्दै ?
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
क्षेत्रीय प्रशासन कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयको भवन सँगै छ । दुवै कार्यालयबीचको पर्खाल हटाई एउटै कम्पाउन्ड बनाउने तयारी छ । सुरक्षाकर्मीका लागि ब्यारेक बनाउने योजना भए पनि काम सुरु भएको छैन । भवनमा फर्नि्सिङसहित कोठा व्यवस्थापन भइरहेको छ भने मंगलबारदेखि सामान सार्न सुरु गर्ने तयारी छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय
जिल्ला कृषि विकास कार्यालयले माथिल्लो तला खाली गरेको छ । तर, कृषि कार्यालय नसरेका कारण भिआइपी कक्ष, भेटघाट तथा अतिथि सत्कार कक्षको व्यवस्थापन, रंगरोगन तथा फनिर्सिङको काम हुन सकेको छैन ।
वन मन्त्रालयको अवरोध
प्रदेश प्रमुख दुर्गाकेशर खनालका लागि तोकिएको क्षेत्रीय वन निर्देशालनय र क्षेत्रीय वन तालिम केन्द्रको भवनका विषयमा विवाद नै छ । तालिम केन्द्रको एउटा कोठा प्रदेश प्रमुख र अर्को प्रदेश प्रमुखको कार्यालय सचिवका लागि छुट्याइएको छ । अन्य कोठा भने वनले नै प्रयोग गरिरहेको छ । केही कोठा वन कर्मचारीले निवासको रूपमा प्रयोग गरिरहेका छन् ।
वन तथा भू–संरक्षण मन्त्रालयले भौतिक संरचना, सवारीसाधन तथा अन्य सामग्री हस्तान्तरण नगर्न २६ पुसमा परिपत्र गरेको छ । मन्त्रालयको परिपत्रअनुसार भवन खाली नगरिएकोे क्षेत्रीय वन निर्देशनालयका निमित्त क्षेत्रीय निर्देशक विष्णुहरि आचार्यले बताए । वनका लागि भवन भाडामा लिने वा अन्य कार्यालयको भवनमा सर्ने यकिन नभएको आचार्यको भनाइ छ । सरकारले भने तालिम केन्द्रलाई प्रदेश प्रमुखको कार्यालय र निर्देशनालयको भवनलाई निवासका लागि उपयोग गर्ने निर्णय गरेको थियो ।
विवाद सुल्झाउन वन कार्यालयका लागि सिँचाइ तथा खानेपानी कार्यालयको भवन तय गरिएको थियो । त्यसमा रंगरोगनसमेत भयो । तर, वन कर्मचारीले सार्न मानेनन् । त्यसपछि नापी कार्यालयमा रंगरोगन गरियो । उनीहरू त्यसमा पनि मञ्जुर भएनन् । सातपटकसम्म छलफल भइसकेको र केही दिनमा खाली नगरे बल प्रयोग गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव प्रधानको भनाइ छ ।
यस्तो छ निवासको अवस्था
मुख्यमन्त्रीको निवास

क्षेत्रीय कृषि निर्देशानलय स् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाथरुम, धारा मर्मतसम्भार र भवनमा रङरोगन तथा सुरक्षा ब्यारेक बनाउनुपर्नेछ । केही दिनभित्रै भवन खाली गर्ने जनाइएको छ ।
प्रदेश प्रमुखको कार्यालय
क्षेत्रीय वन तालिम केन्द्र स् भवनको दोस्रो तलाको दुईवटा कोठा मात्रै दिइएको छ । बाँकी तालिम केन्द्रले उपयोग गरिरहेको छ । सुरक्षा ब्यारेक बनाउन बाँकी छ । अतिथि सत्कार र भेटघाटका लागि तय गरिएको तालिम कक्ष र प्रमुखको निवासका लागि छुट्याइएको वन कार्यालयकै अर्को भवन खाली गरिएको छैन ।
मन्त्री निवास
क्षेत्रीय सिँचाइको आवास भवन स् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश मन्त्रीहरूको निवास क्षेत्रीय सिँचाइको आवास भवन नै प्रयोग गरिनेछ । तर, सोमबारसम्म कर्मचारी नै बसिरहेका छन् । जसले गर्दा मर्मतसम्भार तथा रंगरोगन गर्न सकिएको छैन ।
सभामुखका निवास
शैक्षिक तालिम केन्द्रको आवास भवन स् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सभामुखको निवास शैक्षिक तालिम केन्द्रको आवास भवन नै प्रयोग गरिनेछ । तर, सोमबारसम्म भवन खाली गरिएको छैन । २९ माघमा सभामुख निर्वाचन हुँदै छ ।
प्रदेश प्रमुखलाई बिग्रेको गाडी, अरूको टुंगो छैन
प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई संघीय सरकारले स्कारपियो उपलब्ध गराएको छ, तर बिग्रिएको । प्रदेश प्रमुखको नियुक्ति पाएलगत्तै उपलब्ध स्कारपियो त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुग्न पनि काम लागेन । उनी काठमाडौंबाट सुर्खेत जानका लागि ट्याक्सी चढेरै विमानस्थल पुगेका थिए । उनका लागि सोमबारसम्म अर्को गाडी पठाएको छैन ।
त्यस्तै, मुख्यमन्त्री, मन्त्री र सभामुखलाई उपलब्ध गराउने गाडीको टुंगो पनि लागेको छैन । प्रमुख सचिव प्रधानले बजेट अभावले गाडीको व्यवस्था हुन नसकेको जनाउँदै अर्थ मन्त्रालयसँग माग गरिएको बताए ।
                    

२३ माघ २०७४ नयाँ पत्रिकाबाट साभार

प्रकाशित मिति : २०७४ माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस