बार्सिलोनाको अपराजित यात्रा

बुधबार, २४ माघ २०७४

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आफ्नो अपराजित यात्रा जारी राखेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले स्पोनोयलसँग १–१ गोलको बराबरी खेल्यो । लिगमा बार्सिलोना चौथोपटक बराबरीमा रोकिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६६औँ मिनेटमा जेरार्ड मेरेनोले इस्पोनोललाई अग्रता दिलाएका थिए ।पहिलो हाफमा निरन्तर गोलका मौकालाई गोलमा परिणत गर्न असफल रहेको बार्सिलोना ८२औँ मिनेटमा १–१ को बराबरी गर्न सफल भयो ।

डिफेन्डर जेरार्ड पिकेले आकर्षक हेड गर्दै बार्सिलोनालाई बराबरीमा ल्याएका हुन् । पिकेले मेसीको फ्रिकिकको सदुपयोग गरेका थिए । खेलमा आराम दिइएका मेसीलाई पहिलो हाफमा गोल नभएपछि दोस्रो हाफमा मैदानमा पठाइएको थियो ।

बार्सिलोनाको रेकर्ड
बराबरीसँगै बार्सिलोनाले लिगमा सुरुवातबाटै लगातार २२ खेलसम्म अपराजित रहने कीर्तिमान कायम गरेको छ । बार्सिलोनाले जारी सिजनमा २२ खेलबाट १८ खेलमा जित ४ खेलमा बराबरी गर्दै ५८ अंक जोडेको छ । लिगको अर्को खेलमा दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले तेस्रो स्थानको भ्यालेन्सियालाई १–० गोलले पराजित गरेको थियो ।

दोस्रो स्थानको एट्लेटिकोको ४९ र तेस्रो स्थानको भ्यालेन्सियाको ४० अंक छ । एक खेल कम खेलेको रियलम्याड्रिड शीर्षस्थानको बार्सिलोनाभन्दा १९ अंकले पछि रहँदै ३९ अंकका साथ चौथो स्थानमा छ ।

प्रकाशित मिति : २०७४ माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस