
एमालेले कँडेल र माओवादीले शाहीलाई छाने
सुर्खेत ः प्रदेश ६ का प्रमुख तीन दल एमाले, माओवादी र कांग्रेसले संसदीय दलको नेता टुंगो लगाएका छन् । एमाले र माओवादीले बिहीबार नेता टुंग्याएका छन् भने कांग्रेसले टुंगो लगाएको भए पनि शुक्रबार सार्वजनिक गर्ने जनाएको छ ।
प्रदेश सभामा एमालेबाट यामलाल कँडेल र माओवादीबाट महेन्द्रबहादुर शाही नेतृत्व गर्नेछन् । कांग्रेसले अनौपचारिक रूपमा जीवनबहादुर शाहीको नाम तय गरेको छ भने शुक्रबार सार्वजनिक गर्नेछ । दलको नेता चयनमा सहजीकरण गरिरहेका कांग्रेस नेता हृदयराम थामीले भने, ‘अनौपचारिक रूपमा सहमति भए पनि प्रक्रिया पूरा गरी औपचारिक रूपमा शुक्रबार नाम सार्वजनिक गर्छौँ ।’
संसद्मा रोचक अंकगणित
प्रदेश ६ मा राजनीतिक समीकरण रोचक बनेको छ । ४० सदस्यीय प्रदेश सभामा २० सदस्य एमालेका छन् भने उसले राप्रपाका एक सदस्यलाई पनि साथ लिएको छ । कालिकोटबाट समानुपातिकमा निर्वा्चित राप्रपाकी सोशिला शाहीले समर्थन गर्ने भएपछि एमालेसँग सरकार बनाउने बहुमत पुगेको छ । पार्टीको निर्देशनअनुसार नै राष्ट्रिय सभामा वाम गठबन्धनका उम्मेदवारलाई मत दिएको शाहीले बताइन् । यो प्रदेशमा सरकारको नेतृत्व माओवादीले गर्ने सहमति भएको छ । यदि वाम गठबन्धनको समीकरणमा फेरबदल आयो भने सबैभन्दा पहिले यही प्रदेशको सरकार अस्थिर बन्नेछ ।
एमाले संसदीय दलका नेता कँडेल
एमालेले संसदीय दलको नेतामा यामलाल कँडेललाई चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले कँडेललाई नेता चयन गरेको हो । प्रदेश सरकार गठनका विषयमा नेता कँडेलले अहिले केही नबोल्ने बताए । उनले भने, ‘पछि कुरा गरौँला, अहिले केही बोल्दिनँ ।’ सुर्खेत २ (क)बाट निर्वा्चित कँडेलले यसअघि प्रतिनिधिसभामा पनि प्रतिनिधित्व गरिसकेका छन् । यो प्रदेश सभामा एमालेका २० सदस्य छन् ।
माओवादी संसदीय दलको नेतामा शाही
माओवादीले प्रदेश ६ को संसदीय दलको नेतामा महेन्द्रबहादुर शाहीलाई चयन गरेको छ । संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत चयन गरेको माओवादी प्रदेश ६ का इन्चार्ज शक्तिबहादुर बस्नेतले बताए । संसदीय दलको नेता चयनसँगै शाहीको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । एमाले र माओवादीबीचको सहमतिअनुसार प्रदेश ६ मा माओवादीको नेतृत्वमा सरकार बन्नेछ ।
कांग्रेस संसदीय दलको नेता शाही बन्ने निश्चित
प्रदेश ६ मा कांग्रेसको संसदीय दलको नेतामा जीवनबहादुर शाही निश्चित भएका छन् । शुक्रबार बिहान १० बजे बस्ने कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ । उनी हुम्लाबाट प्रदेश सभा सदस्यमा निर्वा्चित भएका हुन् । उनी ०७० को संविधानसभामा पनि निर्वा्चित भएका थिए ।
के भन्छन् शाही ?
प्रदेश ६ गरिब भएकै कारण हाम्रो सोच पनि गरिब भएजस्तो देखिन्छ । अब यो प्रदेशलाई समृद्ध बनाउन सबै दल मिलेर काम गर्नुपर्छ । सत्तापक्ष र प्रतिपक्ष नभई विकासका मुद्दामा एउटै योजना र कार्यक्रम लिएर जान सकियो भने धनी प्रदेश बनाउन सकिन्छ । यहाँका जडीबुटी र जलस्रोतको उपयोग एवं पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्नुपर्छ ।
भोट क्रस गर्नेलाई कारबाहीको माग
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ६ का दुईजनाले मत क्रस गरेका छन् । एकजना प्रदेश सभा सदस्य र एकजना स्थानीय तहका मतदाताले मत क्रस गरेका हुन् । यो प्रदेशमा कांग्रेससँग राष्ट्रिय सभामा एउटा पनि सदस्य निर्वा्चित गराउने मतभार थिएन । मत क्रस गर्नेलाई कारबाही गर्न कांग्रेस नेताहरूले माग गरेका छन् ।
कहाँ—कहाँ छन् संसदीय दलका कार्यालय
प्रदेश ६ को संसदीय दलका कार्यालय प्रदेश सभा रहेकै शैक्षिक जनशक्ति तालिम केन्द्रको भवनमा रहनेछन् । त्यही भवनमा सभामुख र उपसभामुखको कार्यालय तथा सभामुखको निवाससमेत रहनेछ । प्रदेश सभामा मान्यता पाएका तीन दल एमाले, माओवादी र कांग्रेसले संसदीय दलको सेवा–सुविधा पाउनेछन् । समानुपातिकमा एक सिट पाएको राप्रपाकी सांसद सोशिला शाही प्रदेश सभामा स्वतन्त्र हैसियतमा रहनेछन् ।
अझै तयार छैनन् कार्यालय
संसदीय दलका लागि शैक्षिक तालिम केन्द्रको भवन टुंगो लागेको भए पनि कार्यालय तयार भइसकेका छैनन् । प्रदेश सभा हलको मर्मत–सम्भार सुरु भएको छैन । हल तयार गर्न करिब तीन महिना लाग्ने जनाइएको छ । तत्कालका लागि सिंचाई डिभिजन कार्यालयको भवन प्रयोग गरिएको छ । त्यस्तै संसदीय दल कार्यालयका लागि पनि सो भवन मर्मत–सम्भार भएको छैन ।