
सुर्खेत ः एमालेले ‘आलोपालो नेतृत्व’ गर्नुपर्ने प्रस्ताव गरेपछि प्रदेश ६ को सरकार गठनमा ढिलाइ भएको छ । अन्य प्रदेशमा मुख्यमन्त्रीले शपथग्रहण गरिसक्दा पनि यहाँ भने एमाले र माओवादीबीच सहमति जुट्न सकेको छैन ।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीको कार्यकाल आलोपालो गर्ने प्रस्ताव ल्याएका हुन् । बुधबार भएको कँडेल र माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीबीचको छलफलमा पनि यो प्रस्ताव दोहो(याइएको छ ।
बुधबार साँझसम्म दुवै दलबीच कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन । यो प्रदेशमा एमाले ठूलो दल बनेको छ । प्रदेश सभाका ४० सदस्यमध्ये एमालेका २० सदस्य छन् ।
स्वतन्त्रको हैसियतमा रहेका राप्रपाका सांसदले सहयोग गर्दा एमाले आफैँले सरकार गठन गर्न सक्छ । त्यसैले पनि एमाले सांसदहरूले आलोपालो सरकारको नेतृत्व गर्नु पर्ने दाबी गर्दै आएका छन् ।
तथापि, बिहीबार मुख्यमन्त्री नियुक्ति हुने दुवै दलका नेताहरूले बताएका छन् । माओवादी नेता नरेश भण्डारीले बिहीबार मुख्यमन्त्री नियुक्त हुने सम्भावना रहेको बताए । एमालेका नेता दलबहादुर रावलले बिहीबारसम्म दुवै दलबीच सहमति जुट्न सक्ने बताए ।
मन्त्रालय व्यवस्थापनको काम जारी
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय बल्ल तयार भएका छन् । जिल्ला वन कार्यालयको भवनमा राख्ने तयारी गरिएको भए पनि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अहिले भवन डिभिजन कार्यालयको भवनमा राखिएको छ ।
बुधबार साँझै मात्रै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि सञ्चालनमा आएका छन् ।आन्तरिक मामिला मन्त्रालयको भवनमा सरसफाइ भइरहेको छ भने सामाजिक विकास मन्त्रालय पनि सञ्चालनमा आएको छ । अन्य मन्त्रालयको व्यवस्थापन भइरहेको प्रमुख सचिव सुरेश प्रधानले बताए ।
मन्त्रालयमा कुर्सी नै छैन
मन्त्रालयका लागि भवन तोकिए पनि व्यवस्थापन भने कमजोर रहेको छ । मन्त्री, सचिव र कर्मचारी बस्ने कोठा तयार भएका छैनन् । उनीहरूले बस्ने कुर्सीसमेत छैन । भौतिक पूर्वाधार मन्त्रालयमा अहिलेसम्म एकजना कर्मचारी पनि हाजिर भएका छैनन् ।
प्रदेश प्रमुखको पनि तयारी
३ फागुनभित्र दलहरूले मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनसम्बन्धी दाबी पत्र दर्ता नगराए प्रदेश प्रमुख दुर्गाकेशर खनालले आह्वान गर्ने तयारी गरेका छन् । बिहीबार साँझसम्म प्रदेश प्रमुख खनालले संविधानअनुसार दाबी पेस गर्न आह्वान गर्नेछन् ।
माओवादी सांसदको हस्ताक्षर संकलन
मुख्यमन्त्रीका लागि दाबी पेस गर्न माओवादी सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् । एउटै दलको बहुमत नभए संविधानको धारा १६८ को २ अनुसार दुई वा दुईभन्दा बढी दलका बहुमत सांसदहरूले समर्थन गरेको
हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुपर्छ । त्यसका लागि बुधबार दिउँसो संसदीय दलको बैठक बसेर हस्ताक्षर संकलन गरेको हो । एमाले सांसदहरूले भने हस्ताक्षर संकलन गरेका छैनन् । मन्त्रिपरिषद्को बैठक कक्षको मर्मतसम्भार पूरा भएको छैन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तेस्रो तलामा निर्माण भइरहेको बैठक कक्षमा अन्य सजावटको काम जारी रहेको छ ।
नयाँ पत्रिकामा खबर छ