स्थानीय सरकारको उपहार, औषधिको चरम अभाव

डोल्पा ः यहाँको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीहरुमा औषधिको चरम संकट परेको छ । नगरपालिका कार्यालय देखि १० मिनेटको दुरीमा रहेको त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम संकट परेको हो ।

उक्त नगरपालिका अन्तर्गतका पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिर देखिनै औषधिको मौज्दात घट्दै गएतापनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । जिल्ला अस्पताल डोल्पाले असोजको पहिलो सातामा पठाएको १ लाख ५० हजार बराबरको औषधिले मंसिर महिनाको दोस्रो सातासम्म जेनतेन पाँचवटा स्वास्थ्य केन्द्रले धानेका थिए ।

‘अहिले औषधिको नाममा सिटामोल सम्म पनि छैन, दिनमा सरदर १० देखि २० जनाकोे हाराहारीमा बिमारी आउँछन तर सिटामोल, ग्यास्ट्रिक, एन्टिबाईटिक लगाएतको औषधि समेत नभएकाले सामान्य काउन्सिलिन गरेर खाली फर्काउने गरेका छौँ’ त्रिपुराकोट स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख सृजना रोकायाले बताईन् ।

उनले भनिन् ‘स्थानीय तह बनिसकेपछि यस मातहतका सबै स्वास्थ्य केन्द्रहरुको रेखदेख तथा औषधि ब्यवस्थापन लगायतको सबै जिम्मा नगरपालिकामा सरेको छ, उसैले औषधि खरिद गर्नु पर्ने हो तर बारम्बार जानकारी गराउँदा समेत नगरका पदाधिकारीले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा ध्यान दिन चाहेका देखिँदैन । ’ नगरका कुनाकाप्चामा रहेका बस्तीहरुबाट घन्टौँ हिँडेर बिरामिहरु आउने गर्दछन्, सिटामोल मागेका उनीहरुलाई छैन भन्दै फर्कानु पर्ने बाध्यता छ’ उनले बतईन् ।

स्वास्थ्य उपचारका लागि बिरामि परेर अस्पताल आएका बिरामि निराश भएर घर र्फकने गर्दछन् भने कोही सामान्य सिाटामोलसम्म पनि नपाएको झोकमा औषधि नभएको अस्पताल खोलेर के काम, बन्द गरे हुन्छ भन्दै कर्मचारीलाई नानाथरी गाली गरेर फर्किने गरेको समेत रोकायले जानकारी दिइन् ।

त्रिपुराकोट स्वस्थ्य केनद्रमा कुनै पनि सेवाको लागि औषधि नभएपछि स्वस्थ्यकर्मिहरु घाम तापेर बस्ने बाध्य भएका छन् । त्रिपुरा स्वास्थ्य चौकी जस्तै लिकु, पहाडा, ल्हाँ र सुँ स्वास्थ्य केन्द्रको अवस्था पनि उस्तै हो । सामान्य औषधि समेत नपाईने अवस्था रहेको भन्दै स्वास्थ्य चौकी ईन्चार्जहरुले गुनासो गरे ।

पहाँडा र लिकु स्वास्थ्य चौकीमा समेत औषधि एक हप्ताको लागि मात्र पुग्ने मौज्दात रहेको पहाडा स्वास्थ्य चौकीका ईन्चार्ज कृष्ण कार्कीले बताए । सिटामोल, पखाला लगाएतको औषधि एक हप्ताको लागि पुग्ने भएपनि एमोक्सोसिलिन लगाएतको औषधि सकिने कार्कीले बताए ।

त्रिपुरासुन्दरी नगरपालिका अन्तरगतका पाँच स्वास्थ्य केन्द्रहरुको स्वास्थ्य संयोजक रहेका सन्जयकुमार मण्डल पनि प्राय जसो जिल्ला अस्पतालमा बस्ने गरेको र स्वास्थ्य केन्द्रहरुमा कहिलेकाँही मात्र देखिने गरेको स्वास्थ्यकर्मिहरुको भनाई छ ।

त्रिपुराकोट स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नं १ का अध्यक्ष कर्म्सिंह थापाका अनुसार औषधि अभाव भएको ब्यहोरा नगरपालिकालाई बारम्बार जानकारी गराउँदा समेत सुनुवाई नभएको बताए ।

नगर परिषद् सम्पन्न भईसक्दा पनि स्वास्थ्य चौकीका लागि औषधि जिल्ला अस्पताललेनै उपलब्ध गराउँछ भन्ने बिषयमा अलमल हुँदा पनि औषधिको अभाव भएको जनप्रतिनिधिहरुले स्विकार गरे ।
गत पुस १ गते बसेको नगरको कार्यपालिकाको बैठकले १५ लाख रुपैया औषधी र उपकरण खरिद भनेर निर्णय भएपनि तर जनप्रतिनिधिको बेवास्ताका कारण औषधि खरिदमा ढिलाई भइरहेको निमित्त कार्यकारी अधिकृत हिराचन्द्र धरलाले बताए ।

त्रिपुराकोट स्वास्थ्य केन्द्र नगरपालिकाको केन्द्रमा रहेकाले बिमारीको चाप बढी हुने र औषधि पनि बढी नै खपत हुने भएकाले छिटो भन्दा छिटो औषधि खरिदका लागि आफुले नगरप्रमुख ओमबहादुर बुढालाई पहल गरिरहेको पनि निमित्त कार्यकारी धरलाले जानकारी दिए ।

‘जिल्ला अस्पतालले चलाई रहँदा यस्तो समस्या थिएन । तर सिंहदरवारको अधिकार घरघरमा आएपछि स्थानीय सरकारले पहिलो उपहारको रुपमा आफुहरुलाई औषधी संकट दिएको’ त्रिपुरासुन्दरी नपा १ का आइतराम सार्कीले भने ।

उनले भने ‘स्थानीय सरकार भएमा स्थानीयका समस्या हेर्ला खाद्यान्न, औषधि लगायतका समस्याहरुबाट मुक्ति पाइएला भन्ने ठानेका थियौँ तर झनै समस्या पो थपिन थाल्यो ।’ स्वास्थ्य संस्थाहरुमा सरकारले निशुल्क रुपमा ३५ ओटा औषधि उपलब्ध गराउँदै आएको बताएपनि डोल्पाका अधिकांश स्वास्थ्य केन्द्रहरुमा औषधि नै छैन ।

जिल्ला अस्पताल दुनैका प्रमुख डाक्टर श्रीकान्त अग्रवालले स्वास्थ्य केन्द्रहरुमा स्थानीय निकायले जिम्मेवारी लिएपछि समस्या समाधानको साटो झनै बल्झिन थालेको बताए ।

नयाँ पत्रिकाबाट साभार

प्रकाशित मिति : २०७४ फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस