सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सडक मर्मतको नाममा फजुल खर्च गरिएको छ।नगरपालिकाले वर्षौदेखि सडकमा रहेका खाल्डाहरु माटोले टालेर मर्मतको बहनामा आँखामा छारो हाल्ने काम गरेको हो। कालोपत्रे गर्नुको साटो माटोले सडकका खाल्डा पुरिएपछि तीव्र आलोचना भएको छ।
वीरेन्द्रनगरका अधिकांश सडकहरु भत्किएका छन्।कतिपय स्थानमा ठूला खाल्डा छन्।प्रदेशको राजधानी भएसँगै नगरपालिकाले हतारमा ती खाल्डाहरु माटोले पुर्न थालेको छ।नगरका अधिकांश सडकमा रहेका खाडलहरु रातारात माटोले पुरिएका छन्।केही स्थानमा भने गिट्टीले खाल्डा पुरिएका छन्।बिहीबारबाट नगरका मुख्य सडक, प्रदेश मन्त्रालय, संसद र सरकारी कार्यालयहरु रहेका स्थानका सडकका खाल्डाहरु माटोले पुरिएका हुन्।तत्कालका लागि काम देखाउन नगरपालिकाले माटोले खाल्डा पुरेर फजुल खर्च गरेको गुनासो सर्वसाधारणले गरेका छन्।
नगरपालिका कार्यालयका अनुसार नगरको मुख्य क्षेत्र वडा नम्बर ७ र ८ मा सडकका खाल्डा पुर्ने अभियान सुरु भएको छ।उपभोक्ता समितिमार्फत मर्मतको काम भएको नगरपालिकाले जनाएको छ।यो कामका लागि नगरपालिकाले आठ÷आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।सडक मर्मत सम्भार शीर्षकमा विनियोजन भएको त्यही रकमबाट अहिले सडकमा माटोको टालो हालेर काम देखाउने प्रयास भइरहेको छ।
वर्षातको मौसम सुरु हुन लाग्दा माटोले टालेर सडकका खाल्डा पुर्ने प्रयास गरिएको छ।खाल्डा पुर्ने काम भएको दुई दिन बित्न नपाउँदै माटो र गिट्टी उछिट्टिएर गइसकेको छ।नगरपालिकाको यो काम दीर्घकालीन नभएको र मर्मतको नाममा बजेट मात्र सक्ने काम भएको सरोकारवालाहरु बताउँछन्।
नगरपालिका कार्यालयले भने उपभोक्ता समितिमार्फत सडक मर्मतको काम भएको जनाएको छ।सडकका खाल्डामा माटो र गिट्टी हालेर ग्राबेल गरिने नगरपालिकाको भनाइ छ।कार्यालयका कार्यकारी अधिकृत कृष्णबहादुर खड्काले भने,‘नगरका ७ र ८ वडामा काम सुरु भएको छ, दुबै वडामा आठ÷आठ लाख रुपैयाँ मर्मत शीर्षकमा विनियोजन भएको थियो।त्यही रकमबाट खाल्डा पुर्न थालिएको हो, बिस्तारै त्यसलाई ग्राबेल गर्नेछौं ।’
नगरपालिकाले अहिले माटोले खाल्डा पुरिएको र विस्तारै सडकमा ग्राबेल गरिने जनाएको छ।यसरकारण पनि सडकमा तत्काल कालोपत्रे गर्ने योजना नगरपालिकासँग छैन।कालोपत्रे नगरेरे खाल्डाहरु माटोले पुरेर बजेट सक्ने काम मात्र भएको नगरवासीको गुनासो छ।तत्काल कालोपत्रे नभए सरकारी बजेट खेर जाने र सडकको अवस्था उस्तै हुने उनीहरु बताउँछन्।
पहिलो नगरसभाबाट प्रत्येक वडामा सडकको मर्मतका लागि आठ÷आठ लाख रुपैयाँ विनियोजन गरिएको थियो।सोही रकमबाट १५ लाख खर्चेर नगरका दुई वडाले सडकमा माटो मात्र हालेका छन्।‘सर्वसाधारणबाट सडक सुधार्नुपर्ने आवाज आयो, जनताको गुनासो समाधान गर्न तत्कालका लागि माटो र गिट्टी हालिएको हो’ खड्काले भने।
उनका अनुसार मर्मतको पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडी र क्याम्पस रोड र प्रदेश तहका मन्त्रालय नजिकको सडकका खाल्डाहरु पुरिएको छ।प्रदेश प्रमुखदेखि संसद सचिवालय र सबै मन्त्रालय रहेका वीरेन्द्रनगर ७ र ८ मा रहेका विभिन्न सडकहरूमा माटो र गिट्टी हालेर अलपत्र अवस्थामा छोडिएको छ।जनप्रतिनिधिले जिम्मेवारी सम्हालेसँगै बर्षामा हिलाम्य हुने वीरेन्द्रनगरका सडकहरु कालोपत्रे हुने अपेक्षा नगरवासीले राखेका थिए।तर माटोले सडक टाल्ने काम भएपछि सर्वसाधारणले फजुल खर्च गरिएको भन्दै आक्रोश पाखेका हुन्।
अन्नपुर्णबाट