डोल्पाको करोपगाडसम्म गुड्यो गाडी

डोल्पा ः हिमाली जिल्ला डोल्पाको करोपगाडसम्म यातायात संञ्चालनमा ल्याईएको छ । त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ५ मा पर्ने करोपगाडसम्म सोमबार देखि यातायात संञ्चालनमा ल्याईएको हो ।

सेनाले जिम्मा लिएको जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत त्रिबेणी बजार देखि करोपगाडसम्मको पाँच किलोमिटर सडकखण्ड निर्माण गरेर यातायात संञ्चालनमा ल्याईएको सेनाले जनाएको छ ।डोल्पालीले यातायात नुहुँदा खेप्नु पर्ने समस्यालाई मध्येनजर राख्दै त्रिबेणी–करोपगाड खण्डमा आन्तरिक यातायातको रुपमा जीप, ट्रयाक्टर लगाएतका यातायातका साधनहरु संञ्चालनमा ल्याइएको सेनाले जानकारी दिएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डको कुल लम्बाई ११७ दशमलव ७ किमी सडकखण्ड मध्ये ११४ दशमलव ७ किमी सडक निर्माणकार्य सम्पन्न भईसकेकोे छ । सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक संञ्जालमा जोडिन तीन किमी मात्रै बाँकी रहेको जाजरकोट–डोल्पा सडकखण्डका कार्यदल प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले जानकारी दिए ।

करोपगाडसम्म गाडी पुगेसँगै डोल्पालीको जिल्ला बाहिरको यात्रा समेत छोटिएको छ । सडकले छिचोलिन थालेपछि पैदल हिँडेर जाँदा चार दिनसम्मलाग्ने नेपालगञ्ज, सुर्खेतको यात्रा छोटिएर दुई दिनमा झरेको त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय कृष्णचन्द्र पाण्डेले भने ।

सडक यातायात पुगेपछि डोल्पाको एकमात्र यातायातको साधनको रुपमा रहेको जुफाल बिमानस्थलमा हप्तौँ कुरेर जहाजको टिकेट लिनुपर्ने बाध्यता समेत टर्न थालेको उनले बताए ।पहाडीले भने(‘बाँकी तीन किमी सडकखण्ड चट्टानै चट्टान भएकाले एकदमै चुनौति पुर्ण रहेको छ,थुप्रै चुनौतिका बाबजुत पनि सेनाले हार नखाएर निर्माणकार्यमा अहोरात्र खटिरहेको छ ।’

‘०७५ दशैँसम्ममा डोल्पा दुनैसम्म ट्रयाक खुलाएर डोल्पाली जनताको बर्षौ देखिको सडक सपना साकार पार्ने लक्ष्य अनुरुप सेना अगाडी बडिरहेको छ’ पहाडील थपे । अहिले श्रीवीण्डे–खदाङ तीन किमी सडकखण्डमा काम भईरहेको छ,यस खण्डको बिचमा चिप्ले, फोई, फुलपानी भिर, चुँ गाड भिर लगाएतका दर्जनाँै कडा चट्टानयुक्त भिर पहरा फुटाउनका लागि सेनाले विभिन्न ठाँउमा निर्माण बेश खडा गरेर तीब्र रुपमा काम अगाडी बढाईरहेको छ ।

‘खदाङसम्मको बाटो निर्माणकार्य सम्पन्न भईसके पनि केन्द्रबाट उच्च पदस्थ ब्यक्तिहरुको आगमनको समय नमिलेकाले खदाङसम्मको सडक उद्घाटनमा ढिलाई भएको छ’ । ‘अबको दुईसाता भित्रै त्रिपुरा सुन्दरी नगरपालिको खदाङसम्म सडक उद्घाटन गरेर यातायात संञ्चालनमा ल्याउने तयारी गर्दै छाँै’, पहाडीले भने ।

जाजरकोट–डोल्पा सडकखण्डको जिरो पोईन्ट जारकोटको पासगाड देखि श्रीवीण्डे बजारसम्मको ९० किमी सडक निर्माण कार्य सम्पन्न भईसकेको सेनाले जनाएको छ । ०७३ साउन २३ गते त्रिबेणी बजारसम्म ७७ किमी सडक निर्माण सम्पन्न गरेर प्रधान सेनापती राजेन्द्र क्षेत्रीद्धारा उद्घाटन गराएर सिमाना प्रवेश गराईएको थियो ।

त्रिदेशीय सडक संञ्जालको रुपमा रणनैतिक महत्व बाकेको यस सडकखण्ड अन्तरदेशीय मुख्य ब्यापारिक मार्गको रुपमा राज्यले लिएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस