दीपेन्द्र चम्किएपछि पपुवान्युगिनी माथि ६ विकेटको जित

काठमाडौँ ः आर्इ्सिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवान्युगिनी (पिएनजी) विरुद्धको खेल फराकिलो अन्तरले जितेको छ । नयाँ पत्रिकामा खबर छ ।

दीपेन्द्रसिंह ऐरीको अविस्मरणीय अलराउन्ड प्रर्शनको मद्धतमा नेपालले पिएनजीलाई ६ विकेटले पराजित गर्याे ।

दीपेन्द्रले बलिङतर्फ ४ विकेट लिए भने ब्याटिङमा पनि शानदार प्रदर्शन गर्दै अविजित ५० रन बनाए । लिस्ट एमा यो उनको पहिलो हाफ सेञ्जुरी हो ।

पिएनजीले दिएको ११५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा २३ ओभरमै पूरा गर्याे । तर, यसपटक पनि माथिल्ला ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका दुवै ओपनर सस्तैमा आउट भए भने कप्तान पारस खड्का १८ बलमा २० रन बनाएर पेभेलिएन फर्किए ।

तर, त्यसअघि बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै पिएनजीलाई कम रनमा समेटेकाले नेपालले सहज जित हात पार्याे ।

चर्चित युवा लेगस्पिनर सन्दीप लामिछान र पार्टटाइम बलर दीपेन्द्रसिंह ऐरीले समान ४–४ विकेट लिएपछि पिएनजी ११४ रनमै अलआउट भएको थियो । नेपाली बलरका सामु पिएनजीका ब्याट्सम्यान २७ ओभर २ बल मात्र टिक्न सके ।

पिएनजीले ६ विकेट गुमाएपछि बलिङमा आएका ऐरीले त्यसपछिका चार विकेट एक्लैले लिए । पहिलो ओभरमा १ विकेट लिएको उनले दोस्रोमा दुई तथा तेस्रोमा थप एक विकेट लिए ।

यस्तै, सन्दीपले पनि चार विकेट लिए । उनले डोरिगालाई व्यक्तिगत १० रनमा, सेसे बाउलाई ११ रनमा, चाड सोपरलाई १० रनमा तथा टोनी उरालाई ११ रनमा आउट गरे । यस्तै, सोमपाल कामीले असद भालालाई १० रनमा आउट गरे ।

जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा भएको खेल नेपालका लागि निकै महत्वपूर्ण थियो । जितसँगै नेपाल ४ वर्षका लागि प्राप्त हुने एकदिवसीय मान्यताको नजिक पुगेको छ ।

अहिले भइरहेको नेदरल्यान्ड्स र हङकङबीचको खेलमा नेदरल्यान्ड विजयी भए नेपालले एकदिवसीय मान्यता पाउनेछ । हङकङ विजयी भएको अवस्थामा भने नेपालले फरि हङकङसँग खेल्नुपर्नेछ ।

प्रकाशित मिति : २०७४ चैत्र १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस