
कालिकोट ः जनप्रतिनिधिहरु अवलोकन भ्रमण भन्दै देश दौडाहामा निस्कँदा स्थानीयवासी मर्कामा परेका छन् । आर्थिक वर्ष सकिन ४ महिना मात्र बाँकी रहँदा विभिन्न स्थानीय तहका कर्मचारी सहित जनप्रतिनिधिहरु अन्य जिल्ला भ्रमणमा निस्किएपछि स्थानीय तहमा हुने विकास निर्माणका काम प्रभावित भएका हुन् । थाहा खबरमा समाचार छ ।
स्थानीय तहमा हुने गाउँका विकास योजनाहरुको सम्झौता गर्नुपर्ने चटारो भएका वेला स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि सरकारी बजेटमा भ्रमणमा निस्किएका हुन् । अध्ययन भ्रमण भन्दै स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेर भ्रमण गरेर खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष सहितको जम्बो टोली दैलेख, नेपालगन्ज, पाल्पा लुम्बिनी र इलामको भ्रमण निस्किएका हुन् ।
शुभ गाउँपालिकाको भ्रमण टोलीले गाउँपालिकाको २० लाख रुपैयाँ रकम लिएर अवलोकन भ्रमणमा गएको स्थानीयको आरोप छ । सरकारी कर्मचारी सहित जनप्रतिनिधिको जम्बो टोली भ्रमणमा हिँडेपछि गाँउपालिकाको दैनिक महत्वपूर्ण सेवा प्रवाहको कार्य रोकिएको स्थानीयले बताए । ‘आफ्नो गाउँठाउँको आधारभूत विकासका लागि जम्बो टोलीको भ्रमण आवश्यक नरहेकाले भ्रमणले गाउँपालिकाको विकासे रकम दुरुपयोग भएको स्थानीयको आरोप छ ।
‘आर्थिक वर्ष सकिन लाग्दा भएको भ्रमणले रकम दुरुपयोग गर्ने काम भएको छ ।’ विकासका काम सिक्न भ्रमणमा निस्केका हौँ गाउँपालिका अध्यक्ष गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले शुभकालिका गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले अवलोकन भ्रमणमा निस्केको बताए । ‘अन्य जिल्लामा विकासका काम कसरी भइरहेका छन् त्यसका विषयमा सिक्न भ्रमण निस्किएका हौँ,’ उनले भने, ‘बजेट विनियोजन कसरी र कुनकुन शीर्षकमा छुट्याइएको छ अन्य स्थानीय तहको अवलोकन गरी राम्रा कुराहरुलाई आफ्नो गाउँपालिकामा लागू गर्नका लागि अवलोकन अनुशरण भ्रमणमा लक्ष्य रहेको छ ।’
त्यस्तै, खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी पनि अवलोकन भ्रमणमा गएका छन् । २९ जनाको टोली सहित पोखरा, पाल्पा, लुम्बिनी लगायतका क्षेत्रमा भ्रमण गर्नका लागि खाँडाचक्र नगरपालिकाको नगरसभाबाट पाँच लाख रुपैयाँ छुट्याइको खाँडाचक्र नगरपालिकाका कायकारी अधिकृत काशी पंगेनीले बताए । ‘म काम विशेषले भ्रमणमा जान नपाएको र जनप्रतिनिधिहरु भ्रमणमा जानु भएको छ ।’ उनले भने, ‘यथार्थ कति खर्च हुन्छ भन्ने यकिन छैन । ’पछिल्लो समय जनप्रतिनिधिको ध्यान विकासमा नभई बजेट खर्च गर्नेतर्फ मात्र गएको स्थानीयको गुनासो छ ।