
जुम्ला ः माध्यामिक शिक्षा परीक्षा एसइईमा किर्ते गरी नक्कली परीक्षार्थी राख्न लगाउने जुम्लाका एक प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । ८ चैतबाट सुरु भएको एसइई परीक्षामा नक्कली परीक्षार्थी राख्न सघाउने कालिका माध्यमिक विद्यालय वड्कीका प्रधानाध्यापक खड्कबहादुर शाहीलाई १८ चैतमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । राहदेव मावि मोफ्ला केन्द्रमा हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाको परीक्षा दिन आफ्नै विद्यालयको छात्रालाई नक्कली परीक्षार्थीका रुपमा राखेको उनी माथि आरोप छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक डा.तपन कुमार दाहालले परीक्षाहलमा परीक्षार्थीं शंकास्पद देखिएपछि सोधुपुछ गर्दा प्रधानाध्यापक शाहीले नक्कली परीक्षार्थी नभएको र नियमित विद्यार्थी भएको अडान राखेका थिए । मुचुल्कामा झुटो भएमा कारबाही भोग्न तयार रहेको उल्लेख गरेका छन् । उनले भने(‘प्रधानाध्यापक माध्यमिक शिक्षा परीक्षा केन्द्रको केन्द्राध्यक्ष र गार्ड पनि होईन, किर्ते गर्ने र गर्न लगाउने उसको अधिकार क्षेत्र भित्र पर्दैन, त्यसैले परीक्षाको मर्यादा विपरित क्रियाकलाप गर्दा नियन्त्रणमा लिएर हिरासतमै राखेर अनुसन्धान सुरु गरेका छौँ ।’
हिमा गाउँपालिका ३ स्थित सो केन्द्रमा रहेको कन्ट्रोललिष्ट, हाजिर रजिष्टर र परीक्षार्थीको विवरण र जिल्ला शिक्षा कार्यालय जुम्लामा पेस भएको विवरण तुलना गर्दा परीक्षामा हलमा परीक्षा दिँदै गरेकी विमला बुढा नक्कली परीक्षार्थी भएको प्रमाणित भएको थियो । प्रवेश पत्रको जन्म मिति, नाम, ठेगाना र दस्तखतमा केरमेट गरेको भेटिएको थियो ।
प्रहरी नायव उपरीक्षक दाहालका अनुसार सक्कली परीक्षार्थीको जन्म मिति २०४४ साल भएकोमा केरमेट गरेर २०५४ साल बनाइएको छ । त्यही पनि प्रधानाध्यापकले नक्कली परीक्षार्थीको रुपमा सहभागिलाई आफ्नै परीक्षा भएको र खेतला परीक्षार्थी नभएको जिकिर गरी परीक्षाहलमा समावेश गर्न लगाइएका थिए । तर प्रहरीले विद्यालयलाई सम्वन्धित परिक्षार्थीको विवरण माग गर्दा प्रधानाध्यापक शाहीले नै परिक्षार्थीको नाम विमला बुढा नभै हिमाली रोकाया भएको स्पष्टिकरणसहितको पत्र पठाएपछि प्रहरीले नक्कली परीक्षार्थी र प्रधानाध्यापक शाहीलाई नियन्त्रणमा लिइएको हो ।
विद्यालयका लेखापाल धर्मराज शाही पनि नक्कली परीक्षार्थी बनाउन संलग्न रहेको खुलेकोले पक्राउ गर्न खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । यो किर्ते काण्ड दबाब, प्रभाव र अभावको कारण भएको हुनसक्ने अनुमान गरिएको छ । नक्कली परीक्षार्थीको रुपमा भेटिएकी विमला बुढा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । खेतला परीक्षार्थी राख्ने गाउँपालिका उपाध्यक्ष रोकायाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।