सुर्खेत ः सडक सञ्जालले नजोडेको कर्णाली प्रदेशको मुगुलाई हुम्लासँग जोड्ने गरी लिंकरोड निर्माण गरिने भएको छ । बेलायती अन्तर्रा्ष्ट्रिय विकास नियोग (डिएफआइडी)ले मंगलबार मुगु–हुम्ला लिंकरोड निर्माण गर्ने घोषणा गरेको हो।
सुर्खेतमा आयोजित कार्यक्रममा डिएफआइडीका एसिया विभाग निर्देशक रिचार्ड मोत्गोमेरीले मुगु–हुम्ला लिंकरोड निर्माण गर्न लागेको जानकारी दिए ।
डिएफआइडीको सहयोगमा पहुँच कार्यक्रममार्फत कर्णाली प्रदेशमा सडक निर्माण भइरहेका छन् । पहुँच तेस्रो चरणअन्तर्गत मुगु–हुम्ला लिंकरोड निर्माण गर्न लागिएको हो । सडक निर्र्माणको काम भने असोजदेखि मात्रै सुरु हुनेछ ।
मुगुको रारा छायानाथ नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म सडक निर्माण गरिनेछ । दुई जिल्ला जोड्ने ६५ किलोमिटर लामो सडक निर्माणमा २ अर्ब २४ करोड लाग्ने अनुमान गरिएको छ । यो सडकले हुम्ला, मुगु र जुम्लाको परम्परागत व्यापारिक मार्गलाई पुनर्जीवन दिने विश्वास गरिएको छ ।
एक हजारलाई रोजगारी
सडक निर्माणका क्रममा दैनिक एक हजारदेखि एक हजार तीन सय स्थानीय बासिन्दाले रोजगारी पाउने डिएफआइडीले जनाएको छ । निर्माण अवधिमा ६ लाख दिनको रोजगारी सिर्जना हुँदा आठ हजार परिवारको आम्दानी बढ्ने आकलन गरिएको छ ।