यार्सा सङ्कलनका लागि विद्यार्थी लेकतिर, पठनपाठन प्रभावित

जुम्ला ः जुम्लाको पूर्वी क्षेत्र पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा सङ्कलनका लागि लेकतिर गएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलन गर्ने समय सरू भएसँगै जिल्ला तथा जिल्ला बाहिरका व्यापारी तथा सर्वसाधारण लेकतिर गएपछि यार्सा सङ्कलनका लागि बालबालिका पनि अभिभावकसँग लेकतिर जाँदा विद्यालय सुनसान भएका हुन् ।

पातारासी गाउँपालिकामा अध्यनरत विद्यालयका बालबालिका डोल्पा, जुम्ला र मुगु जिल्लाका यार्सा सङ्कलन क्षेत्रतिर गएको सरस्वती मावि पेरे खालाढिकका प्रधानाध्यापक बासुदेव शाहले बताए । उनले भने ‘यार्सा सङ्कलनको समयमा दुई महिना विद्यार्थी विद्यालय नै आउँदैनन ।’ यार्सा सङ्कलनको मौसममा विद्यालयमा विद्यार्थी आउन छाडेको एक दशक भएको र यसले एसईई परीक्षामा समेत असर पर्ने गरेको प्रधानाध्यापक शाहले बताए । सबै विद्यार्थी जिविकोपार्जनका लागि यार्सा सङ्कलन क्षेत्रतिर गएपछि विद्यालय सुनसान जस्तै भएको उनले बताए । ‘विशेष गरी निमावि र मावि स्तरमा पढने विद्यार्थी सबै लेकतिर गएपछि हामी शिक्षक काम विहिन भएको छौँ ।’ उनले भने । अहिले कक्षा सातमा १७ जनामध्ये दुई जना आउने गरेका छन् ।

त्यसैगरी कक्षा आठमा २० जनामध्ये एक जना र कक्षा ९ मा ४१ जनामध्ये एक जना मात्रै कक्षामा पढ्न आउने गरेको शिक्षक जयसिंह सार्कीले बताए । उनले भने ‘कक्षा १० का सबै विद्यार्थी यार्सा सङ्कलनका लागि लेकतिर गए साना साना विद्यार्थी मात्रै विद्यालय आउने गरेका छन् ।’ ‘दुई महिना त निमावि र माविको पढाई नै बन्द हुन्छ पछि पाठयक्रम सम्पन्न गर्न निकै मुस्किल हुन्छ बिहान बेलुका गरेर कोर्ष सम्पन्न गरी मङ्सिरमा अन्तिम परीक्षा लिने गरेका छौँ ।’ प्रधानाध्यापक शाहले भने ‘यस क्षेत्रको जिविकोपार्जनको मुख्य स्रोत भनेको यहि यार्सा सङ्कलन भएकाले हामीले विद्यार्थीलाई बाहिर नजानका लागि कडाइका साथ रोक्न पनि सकेका छैनौँ ।’ यस पातारासी गाउँपालिकामा पाँच वटा मावि, २० वटा निमावि र ६ वटा प्रावि रहेका छन् ।
पातारासी गाउँपालिका प्रमुख लछिमन बोहोराका अनुसार यस क्षेत्रका विद्यार्थी पढाइ छोडेर यार्सा सङ्कलनका लागि लेकतिर जाने गरेकाले पढाइ प्रभावित हुाने गरेको छ । उनले भने ‘यसले बालबालिकाको पठनपाठनमा बाधा र्पुयाएको हामीले बुझेका छौँ । आगामी वर्षमा विद्यार्थीलाई बाहिर जान नदिनका लागि केही वैकल्पिक उपायको खोजी गर्छौँ ।’

प्रकाशित मिति : २०७५ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस