कर्णाली प्रदेशको अधिवेशन ११ जेठमा

मुख्यमन्त्री राहत सहायता कोष परिमार्जन ८ विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति

सुर्खेत ः कर्णाली प्रदेशको बजेट अधिवेशन ११ जेठदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई सिफारिस पठाएको छ ।

११ जेठमा अधिवेशन बोलाउन सिफारिस गरेको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् ।

मुख्यमन्त्री राहत सहायता कोष परिमार्जन
मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री राहत सहायता कोष निर्दे्शिका–२०७५ लाई परिमार्जन गर्ने निर्णय गरेको छ । त्यस्तै, आठ विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।

कर तथा गैर कर २०७५ तर्जुमा गर्न र वित्तीय हस्तान्तरण विधेयक २०७५ तर्जुमा गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।

त्यस्तै, प्रादेशिक पर्यटन, उद्योग, वन ऐन र वातावरण संरक्षणसम्बन्धी विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई र प्रादेशिक जग्गा प्रशासन ऐन र खाद्य ऐनसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको प्रवक्ता केसीले बताइन् ।

विवाद समाधान गर्न कार्यदल
जुम्लाको गोठीचौर गाउँपालिका र तातोपानी गाउँपालिकाको केन्द्रसम्बन्धी विवादको अध्ययन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यज्ञ बोहराको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । त्यस्तै, डोल्पाको ठूलीभेरी नगरपालिकाको केन्द्र परिवर्तनसम्बन्धी कार्यदलले पेस गरेको अध्ययन प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस