
मुगु । मुगुको छायानाथ रारा नगरपालिका स्थित गमगढी बजारमा पहिलो पटक बृहत चित्रकला प्रदर्शन गरिने भएको छ । कर्णाली आर्टस सेन्टरको आयोजनामा नेपाल ललितकला क्याम्पसमा अध्यनरत विद्यार्थीको आयोजनामा चित्रकला प्रदशनी गर्न लागेको हो ।
कर्णालीको संस्कृतीलाई चित्रमार्फत संसारमा चिनाउने उद्देश्यले नेपाल ललित कला क्याम्पसका प्राध्यापक कोशल हमाल यतिबेला १५ जना विद्यार्थीको टोली सहित मुगु पुगेका छन । छायानाथ रारा नगरपालिका २ चैन गाउँमा जन्मेका हमाल नेपाल ललीतकला क्याम्पसका प्राध्यापक छन् ।
मुगुको दुर्गम ठाउँमा जन्मेर आफ्नो ठाउँको लागि परम्परागत संस्कृति चित्र कोरेर संसारमा चिनाउने र मुगुलाई विश्वविद्यालयतिर जोड्ने लक्ष्यका साथ आफू यहाँ आएको हमालले बताए । उनीसँगै आएका १५ जना विद्यार्थीहरुले फरक– फरक विद्यामा मुगुको परम्परा झल्कीने चित्र कोरेका छन् । टेलिभिजन हेरेको मुगु र यहाँका धार्मीक तथा प्राकृतिक सम्पदाहरु फरक पाएको नेपाल हस्तकला क्याम्पसमा अध्यनरत स्याङ्जाका अच्युत पौडेलले सुनाए ।
पहिलो पटक रारा आएका उनले रारा तालमा शिवजीले डुङ्गा चलाएर घुमेको चित्र मार्फत देखाउन खोजेका छन् । उनले रारालाई प्राकृतिक सुन्दरता संगै धार्मिक मौलिकता समेत बोकेको दर्शाउदै रारालाई देवीको रुप मानेर चित्रमा उर्तान लागेका छन् । हातले कोरीएको चित्र मार्फत आफूले रारा र मुगुलाइ संसारमा चिनाउने प्रयास गरेको उनको भनाइ छ । अरु चित्रकारलाई पनि विभिन्न विधाको चित्र कोर्न भ्याइनभ्याई छ । छायानाथको ढोका भित्र राराको तस्वीर कोर्दै गरेकी दुर्गा सुनुवारले संसार घुमेर रारा घुमेन भने सपना अधुरै रहने बताइन् । स्वर्ग नदेखेपनि रारा नै स्वर्ग भएको उनले सुनाइन् । उनले कोरेको तस्वीर निकै आकर्षण देखिएको छ ।
मुगुमा आएर चित्र कोरेका कलाकार प्राकृति सुन्दरता देखेर निकै उत्साहित भएका छन । कोरिएको चित्रहरु कर्णाली आर्टस सेन्टरले शुक्रबार गमगढी बजारको कृष्णचोकमा प्रदर्शन गर्ने भएको छ । चित्र बिक्री गरेर उठेको रकम आर्टस सेन्टरमा जम्मा गर्ने सेन्टरका संयोजक हिराबिजुली नेपालीले बताए । एउटा चित्रको १५ देखि २० हजारमा बिक्री गरिने भएको उनको भनाइ छ ।
नँया पत्रिकाबाट