जुम्ला ः विश्वको अग्लो स्थान हिमाली जिल्ला जुम्लाको पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको छुमचौर ज्यूलोमा एक दशक पछि धान रोप्न सुरु गरिएको छ । २८ सय मिटर अग्लो स्थान गिनिजबुकमा रेकडेट छुमचौर ज्यूलोमा कालीमार्सी धान रोप्न सुरु गरिएको हो ।
स्थानीय कलिमान महताराका अनुसार २०१९ सालमा जग्गा दर्ता गरी २०२१ सालदेखि रोपाई सुरु गरिएको थियो । उनले भने करिव एक दशक जति धान रोपाई भएन अहिले एक दुई साल भयो रोपाई सुरु गरेका छौँ ।
पहिलो बलबहादुर महताराका पालामा चन्दननाथ मन्दिरको शेरा ज्यूलोबाट धानको बेर्ना अर्थात विउ ल्याएर यस छुमचौर ज्यूलोमा रोपाई सुरु भएको हो तर पछि धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिचाई सुविधा नभएको र धान रोपाईको सिजन र पाटनमा यार्सा संकलनको सिजन एउटै पर्ने भएकाले विस्तारै रोपाई गर्न छोडिएको थियो ।
पातारासी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष विर्खराम बोहोराका अनुसारका अनुसार जेठ महिना धान रोप्ने सिजन र पाटनामा यार्सा संकलन सिजन एउटै भएपछि धानबाली भन्दा यार्सा संकलनबाट धेरै आम्दानी हुने भएपछि धान रोपाई कार्य विस्तारै स्थानीय छोड्दै गएको उनले बताए ।
उनले भने यहाँको महत्वको विषयमा पनि स्थानीयमा बुझाईको कमी रहेकोले पनि यो खेती हराउदै गएको थियो तर कालीमार्सी धानको महत्वको विषयमा बुझ्दै गएपछि अहिले दुई सय रोपनी जति धान रोपेका छन् । कर्णाली कला केन्द्र जुम्ला र पातारासी गाउँपालिका कृषि शाखाको समन्वयमा छुमचौर ज्यूलोमा लोपउन्मुख अवस्थामा रहेको कालीमार्सी धान रोपाई कार्यलाई बढवा दिदै धान रोपाई कार्य गरिएको हो ।
कृषि शाखाको सहयोगमा दुई क्वयून्टन धानको विउ वितरण गरी कालीमार्सी धान रोप्न सुरु गरिएको कृषि संयोजक लछिराम महतले बताए । उनले भने विश्वको अग्लो स्थान छुमचौर ज्यूलोमा धान फल्ने कुराले संसारको ध्यान केन्द्रीत गरेको छ । यो गुनिजबुकमा पनि रेकड छ यहाँको धानखेती हराउदै गएको अवस्थामा स्थानीय सरकारको समन्वयमा पुन सुरु गर्ने थालिएको उनले बताए ।
इतिहास जोगाउन धान रोपाई
जुम्लाको पुर्वी भेगमा पर्ने छुमचौर ज्यूलोमा धान रोपाईले पुरानो बाबु बाजेको इतिहास जोगाउन गरिने गर्दछ । अन्य बाली रोप्न भन्दा धान रोपाई साह्रै खर्चिलो हुने गर्दछ । धान रोपेदेखि पाकुन्जेलसम्म धेरै खेताला लाग्ने र अन्य बालीको तुलनामा धान रोपाईमा धेरै दुख हुने गरेको स्थानीय तलिता बोहोराले बताईन् । जेठमा रोपिएको धान असोज महिनामा भित्र्याउने गरिन्छ । धान रोपाईको अवसरमा बाजागाजा सहित रोपार्नीहरुले चुट्किला मागलहरु गाँउदै एक आपसमा हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन रहेको छ । जेठ देखि असारसम्मको समयमा सबै यार्सा पाटनतिरै आम्दानी गर्न जाने भएकाले एक जना मान्छेलाई काममा लगाउन सातसय देखि एक हजारसम्म ज्याला तिर्नुपर्ने हुन्छ । जुम्लामा रातो चामल कालीमार्सी लगाएतका प्रजातिको धान रोपिने गर्दछ ।
जुम्लामा यसरी फलाईएको धानको चामल बिक्रि गर्दा पनि राम्रो मुल्य पाईने कृषकहरुले बताए । प्रतिष्ठित ब्यक्तिहरुको रोजाईमा पर्ने भएकाले कालीमार्सी र रातो धानको चामल नेपालगञ्ज, काठमाडौं, सुर्खेतमा समेत माग हुने स्थानीय कृषकहरुले बताए । प्रति किलो तिन सय सम्म पर्ने रातो र कालीमार्सी धानको चामल अतिथि सत्कार र आफन्तहरुलाई दिईने नासोको रुममा समेत प्रयोग गर्ने गरिन्छ ।
पर्यटकिय क्षेत्र चुमचौर ज्यूलो
कर्णाली कला केन्द्रका अध्यक्ष राजबहादुर शाहीले यस विश्वको अग्लो स्थानमा धान फल्ने छुमचौर ज्यूलो पर्यटकिय क्षेत्रको हब बनाउन सकिने बताए । उनले भने यस क्षेत्रले विश्वको ध्यान केन्द्रीत गर्न सकेको छ हाम्रो इतिहासलाई जोगाउनका लागि पनि पुरानै धानखेती गर्न आवश्यक छ । यहाँ पातारासी हिमाली देखि अन्य पर्यटकिय क्षेत्र प्रयाप्त छन् तर हामीले विश्वलाई चिनाउन सकेको छैनौँ, यहाँ भएको पर्यटकिय क्षेत्रलाई व्यवस्थित गरी पर्यटकलाई भित्राउन सकेको खण्डमा हाम्रो आयआर्यजन यसैमा रहेको उनले बताए । रोपाईमा समेत सहभागी कर्णाली कला केन्द्रकी कोषाध्यक्ष माया पछाईले विश्वमा पर्यटकिय क्षेत्रलाई चिनाउने हामी सवै जुट्नुपर्ने बताईन् । उनले भनिन् कालीमार्सी चामलको पहिचान नेपाल देखि विदेशमा फरक छ यसलाई हामीले बढावा दिनुपर्ने आवश्यक रहेको छ ।