जुम्ला ः जुम्ला जिल्लालाई १४ औँ जिल्ला परिषद्बाट अर्गानिक जिल्लाको रुपमा घोषणा भएपनि पछिल्लो समयमा अत्याधिक रासायनिक विषादी प्रयोग गर्ने गरिएको छ । जैविक जिल्ला घोषणा गरेको दशकसम्म कुनै पनि रासायनिक विषादी प्रयोग गर्ने गरिएको थिएन, तर पछिल्लो २÷४ बर्ष यता जुम्लामा अधिकाँश धानखेतीमा रासायनिक विषादी (व्युटाकोलर) को प्रयोग बढेको छ । यहाँको ढाणथपला र छिना ज्युलो लगायतका धानखेतीमा व्युटाकुलर लुकिछिपि प्रयोग गरेको पाइएको छ ।
चन्दननाथ नगरपालिका कृषि शाखा प्रमुख चन्द्रवहादुर शाही खेतभरी रासायनिक विषादी छरेर हिड्ने मान्छेलाई प्रत्यक्ष असर परिरहेको बताए । ‘घाम लागेको समयमा धान खेत हुदै हिड्ने मान्छेलाई निकै ठुलो समस्या सिर्जना गरेको छ’, उनले भने, ‘एकै दिनमा ६०÷७० जनाले एकै पटक व्युटाकोलर छरेको भेटिएको हो ।’
व्युटाकोलर जिल्लामा भित्रिएपछि स्थानीय प्रशासन कार्यालयको नेतृत्वमा यहाँका दर्ता वाला ५ वटा एग्रोभेटमा छापा मारिएको थियो । ‘एग्रोभेटमा व्युटाकोलर ल्याइएको पाइएन’, उनले भने, ‘किसान आफैले भारतबाट आफै लुकिछिपि ल्याउने गरेको भेटिएको छ ।’
जिल्ला कृषि अनुसन्धान कार्यालयकै अगाडी खुलेआम व्युटाकोलर प्रयोग गरेको भेटिएको थियो । धान रोपाई पछि झारपात नष्ट गर्नका लागि प्रत्येक खेतमा व्युटाकोलर छरिएको छ । यसले शरीरको पाँचन क्रियामा समस्या ल्याउनुका साथै तीन बर्षसम्म माटोमा असर रहन्छ । माटोको उर्वराशक्ति ह्रास हुँदै जानुका साथै वातावरणमा पनि असर पर्छ ।
झारपात नष्ट गर्न रासायनिक विषादी प्रयोग
जुम्लाका कृषहरुले धान खेतमा रासायनिक विषादी अर्थात व्युटाकोर झारपात नष्ट गर्ने एक विषादी हो । यसले मलमा रहेको किटाणु नष्ट गर्छ । कृषकलाई गोडमेल गर्न सहज हुने भन्दै क्षणिक फाइदाका लागि प्रयोग गर्ने गर्दछन् । धेरै मान्छे लगाएर गोडमेल गर्नुपर्ने खेत एकै जनाले गोड्न सक्ने भन्दै व्युटाकोलरको प्रयोग गरेको कृषकले बताउने गरेका छन् । कृषि शाखा प्रमुख शाहीका अनुसार व्युटाकोलरको प्रयोगले शून्य प्वाईन्ट पाँच प्रतिशत फाइदा भए पनि ९९ दशमलव ५ प्रतिशत घाटा व्येहार्नु पर्छ ।
जिल्लामा हुने प्रत्येक तालिम गोष्ठीमा रासायनिक विषादीका कारण मानव स्वास्थ्यका बारेमा हुने हानी नोक्सानीका बारेमा छलफल तथा जानकारी हुदै आए पनि किसानमा कुनै प्रभाव परेको छैन । जिल्लालाई जैविक जिल्ला घोषणा गर्नुको परिणाम निस्किएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल बताईन् । उनले किसानको यस्तो कामले नकरात्मक सन्देश फैलिएको बताइन् । विषादी कहाँवाट, कसरी आउछ, भन्ने बारेमा गहन अनुसन्धान आवश्यक रहेको उनले बताइन् ।
व्युटाकोलर प्रयोग पछि खेतको पानी खाएर एक गाई, एक हल गोरु पनि मरेका छन् । जिल्लाको सिजा क्षेत्रमा पनि रासायनिक विषादीको प्रयोग बढेको छ । चन्दननाथ नगरपालिका क्षेत्रको ११ सय हेक्टरमा धान खेति गरिन्छ । कालीमार्सी र चन्दननाथ एक र तीन जातको धान कृषले रोप्ने गरेका छन् ।