अर्थमन्त्री खतिवडाको जवाफ(संघीयता खर्चिलो भयो ! ’बजेट राष्ट्रिय अर्थतन्त्र निर्माणको पक्षमा छ।’

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले जनताको न्यूनतम आवश्यकता पूरा गर्दै समृद्धिको प्रस्थान बिन्दुकारुपमा आर्थिक वर्ष २०७५र०७६ को बजेट तयार पारिएको बताएका छन् । प्रतिनिधिसभाका सांसदले आजको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि उठाएका प्रश्नमा उनको जवाफ थियो,’बजेट राष्ट्रिय अर्थतन्त्र निर्माणको पक्षमा छ, यो समृद्धिबाट समाजवादतर्फ उन्मुख छ ।’

सर्वाङ्गीण विकासमा बजेटले ध्यान दिएको जिकिर सुनाएका उनले नागरिकलाई उत्पादनसँग जोड्न बजेटले पहल गरेको दाबीसमेत गरे । अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षाका लागि सरकारले जिम्मा लिने बताए ।

सरकारले बजेटमार्फत नागरिकको न्यूनतम आवश्यकता पूरा गरेर समृद्धिको बाटोमा अगाडि बढ्ने स्पष्ट पार्दै उनले बजेट प्रगतिशील बाटोमा अगाडि बढेको बताए ।

उनले संघीयता कार्यान्वयन ७ सय ६१ वटा सरकारको कुरा गरिरहेका बेलामा राजश्वको बाँडफाँट पनि सोहीअनुसार बजेट प्रस्तुत भएको बताए । उनले भने,’अनुदानसहितको पहिलो बजेट ल्याएका छौँ । पहिलेका एकल बजेटसँग तुलना गर्नु हुँदैन ।’

उनले सबै तहको बजेट जोड्दा १५ खर्ब रूपैयाँको बजेट हुने र विकास खर्च पाँच खर्ब रूपैयाँको भई अनि मात्र मुलुकभरको बजेट हुने बताउँदै विगतको आगामी आवको बजेट अंकमा हेर्दा त्यसले झुक्याउने भएकाले संघीयताको वित्तीय प्रणालीअनुसार बजेटलाई हेर्नुपर्ने बताए ।

सरकारले मर्या्दित कामलाई सम्मान गर्ने दर्शनसहित बजेट निर्माण गरेको उनको दाबी छ । अर्थमन्त्री खतिवडाले रोजगारी र श्रमलाई सम्मान गरेर मुलुकभित्रकै स्रोतमा आधारित गरेर बजेट तयार गरिएको बताए ।

संघीयता ठूलो भएकाले त्यसलाई गति दिन कर वृद्धि गर्नुपरेको पनि बताए । उनले भने,’संघीयता खर्चिलो छ, त्यसलाई धान्नुपर्छ, सोहीअनुसार बजेट विनियोजन भएको छ ।’

बजेट अली बढी क्रियाशील भएकाले बढी प्रतिक्रिया आएको हो कि भन्ने आफूलाई लागेको उनको तर्क छ । खतिवडाले भने,’क्रिया र प्रतिक्रियालाई धेरै अगाडि नबढाऔँ, आरोप र प्रत्यारोपलाई यहीँ बन्द गर्नुपर्छ ।’

संविधानको मूल मर्मअनुसार नै आफूले बजेट तयार पारेको उनको दाबी छ । उनले भने,’संविधानमा लोकतान्त्रिक मूल्य मान्यताको समाजवाद भनिएको छ, हामी त्यसैमा अगाडि बढेका छौँ, सरकारी, निजी र सहकारीसँग सबैसँग सरकार सहकार्य गरेर अगाडि बढ्छ, राज्यका निर्देशक सिद्धान्तले त्यही भन्छ ।’

बजेट निश्चित मूल्य र मान्यतामा आउने जवाफ फर्काउँदै उनले भने,’बजेट असीमित स्रोतको भण्डार होइन, अंकगणित हो, गणितबिनाको बजेट हावादारी हुन्छ ।’

प्रतिपक्षले बजेट महत्वाकांक्षी एवं यथार्थपरक नभएको टिप्पणीको प्रतिवाद गर्दै खतिवडाले भने,’बजेट ठूलो बनाऊ, राजश्व नउठाउ र विदेशी ऋण पनि नलिऔँ भन्नु गलत हुन्छ । बजेट अंकगणित पनि हो, त्यसको विधि र सीमा हुन्छ ।’

संघ, प्रदेश र स्थानीयले परिपूरक भूमिकामा काम गर्नुपर्नेमा जोड दिँदै उहाँले बजेटमार्फत प्रगतिशील कर प्रणाली अपनाएकोप्रति गर्व रहेको बताए । उनले विदेशी मुलुकमा आयकरमा ५० प्रतिशतभन्दा बढी हुने दृष्टान्त पेश गर्दै भने,’युरोपमा ४० प्रतिशत छन् । त्यहाँका नीजि क्षेत्र पनि काम गरिरहेका छन् । ऋण लिएर मात्र विकास गर्ने होइन, आन्तरिकरुपमै सबल बन्ने हो ।’

उनले करको विषयभन्दा पनि सुशासन राम्रो दिएमा विदेशी लगानी आउने बताए । उनले सरकारले लगानीको वातावरण बनाउने पनि बताए ।

चालु वर्षको बजेट पुनःनिर्माणको बजेट, सम्पत्ति सुद्धीकरण, लगानी बोर्डलगायतको बजेट भएकाले प्रधानमन्त्री कार्यालयमा बजेट धेरै देखिएको स्पष्ट पार्दै उनले एउटै कुरालाई धेरै पटक भन्दा सत्य हुन्छ भन्ने मान्यता नराख्न आग्रह गरे ।

संघीय संरचनाअनुसारको बजेट हो भनेर ध्यान दिन सांसदलाई आग्रह गर्दै उनले कृषिको बजेट गत वर्षको बजेटमा तुलना गर्न नहुने बताए । उनले ठूला विद्युत् र खानेपानी आयोजनाको प्रतिफलस्वरुप ८ प्रतिशतको आर्थिक वृद्धि हुने दाबी गरे ।

नँया पत्रिकाबाट

प्रकाशित मिति : २०७५ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस