मानदत्त रावल, कर्णाली पोष्ट दैनिक
जुम्ला ः कृषकले पछिल्लो समयमा धान खेतमा गोडमेल गर्न सहज हुने भन्दै रासायनिक विषादी व्युटाकोलर प्रयोग गर्न थालेपछि जुम्ला स्थित स्थानीय तहले विषादी प्रयोग गर्नेको सरकारी सेवा सुविधा रोक्का गर्ने निर्णय गरेका छन् । रासायनिक विषादीको प्रयोगले माटोको उर्वरा शक्ति ह्रास हुदै गएको र मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न थालेपछि स्थानीय तहले गाउँ÷नगरपालिकाले प्रदान गर्दै आएको सेवा सुविधा रोक्ने निर्णय गरेका हुन् ।
चन्दननाथ नगरपालिकाको छिना, महतगाउँ र ढाणथपला ज्युलोमा व्युटाकोलर प्रयोग गरेको भेटिएको छ । किसानले प्रयोग गरेको व्युटाकोलर पशुवस्तु मर्नुका साथै मान्छे विरामी हुने क्रम बढेपछि नगरपालिकाले विषादी प्रयोग नगर्नको लागि कडाई गरेको छ । मेयर कान्तिका सेजुवाल व्युटाकोलर प्रयोग गर्ने किसानलाई नगरपालिकावाट दिईने सेवा सुविधा उपलव्ध नहुने बताईन् । उनका अनुसार खेतवारीमा छरिएको व्युटाकोलरका कारण हिडडुल गर्न समस्या भईरहेको छ । चर्को घाममा खेतवारी हिड्दा किसान आफै विरामी हुने गरेका छन् । जिल्ला रासायनिक विषादी मुक्त भइसकेकोले नगरपालिकामा विषादी प्रतिवन्द गरिएको छ ।
दर्तावाला ५ वटा एग्रोभेटमा अनुगमन गरेर व्युटाकोलर ल्याएको पाइएमा कडा कार्वाही गर्न सचेत गरिएको छ उनले भनिन् नगरपालिकावाट प्रदान हुने विकास निर्माणका योजना, सामाजिक सुरक्षा भत्ता लगायतका सवै सुविधा रोक्का गर्ने निर्णय भईसकेको भन्दै त्यसको प्रचारप्रसार कार्य अघि बढेको छ ।
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले रासायनिक विषादी गाउँपालिकामा ल्याउन प्रतिवन्द गरिएको बताए । उनले भने, किसानले गोडमेल गर्न सहज होस भनेर व्युटाकोलरको प्रयोग गर्न थालेका हुन् यो कार्य गलत हो, अव घरमै जैविक मल वनाएर प्रयोग गर्न र गोठेमल खेतबारीमा प्रयोग गर्नको लागि आग्रह गरिएको छ । प्रत्येक स्थानीय वजार, गाउँका सार्वजनिक स्थानमा रासायनिक विषादीको प्रयोग नगराउनका लागि सुचित गरिएको छ ।
सिजा गाउँपालिकाका कार्यकारी अधिकृत टोपबहादुर बुढाका अनुसार रासायनिक विषादी प्रतिवन्द गर्ने निर्णय भएको छ । उनले भने, रासायनिक विषादी ल्याउने एग्रोभेट र खेतमा प्रयोग गर्ने किसान दुवै कार्वाहीको भागेदार हुनेछन् । पहिलो पटक विषादी छर्दै गरेको भेटिएमा एक हजार रुपैया जरिवाना र सचेत गराउने योजना रहेको छ ।
कार्यकारी अधिकृत बुढाका अनुसार कृषि शाखा र पशु शाखाका कर्मचारीको टिम वनाएर किसानको खेतावारीमा परिचालन गरेका छौँ । जुम्लालाई १४ औँ जिल्ला परिषद्बाट अर्गानिक जिल्ला घोषणा भईसकेको छ उनले भने, किसान रासायनिक विषादीको प्रयोग गर्दैछन, यो विडम्वना हो ।
१४ औँ जिल्ला परिषद्बाट जुम्लालाई अर्गानिक जिल्लाका रुपमा घोषणा गरिएको थियो । स्थानीय तहको निर्वाचन भईसकेपछि जनप्रतिनिधिलाई अटेर गरेर किसानले यो विषादीको प्रयोग गर्न थालेका छन् । यो विषादीको प्रयोगले स्वास्थ्यमा नकरात्मक असर पर्ने गरेको लाम्रा स्वास्थ्य चौकीका इन्र्चाज गोपाल गिरिले बताए । जुम्लाका एक नगरपालिका सहित ७ वटै गाउँपालिकामा व्युटाकोलर प्रयोग वारे कडाई गरिएको छ । यसको प्रयोगले महिलाको पाठयघरमा क्यान्सर हुने र पाचन प्रक्रियामा प्रत्यक्ष असर देखिने कृषि प्राविधिकहरु बताएका छन् । गाउँ तथा नगरपालिका स्थित कर्मचारीले विषादी प्रयोग गरेमा तलव रोक्ने र स्थानीयले प्रयोग गरेमा सरकारले दिने सवै सेवा सुविधा रोक्का गरिने निर्णय समेत गरिएको छ ।