
जुम्ला ः चिकित्सा शिक्षा सुधारका लागि लामो संघर्षरत सामाजिक अभियन्ता डा. गोविन्द केसीको अनशनको पहिलो रात अव्यवस्थित रुपमै वितेको छ ।
डा. केसीका भाई किशोर केसीले अनशनरत स्थान कवर्डहलमा कुनै पनि व्यवस्था छैन न विजुली, न पानी न शौचालय कुनै पनि व्यवस्था छैन वत्तिको व्यवस्था नभएकाले अध्यारोमै रात वितेएको बताए । उनले भने, ‘बत्ति छैन, अध्यारोमा बस्न निकै कठिन भयो दियालोले रात काट्नु पर्यो ।’ अनशन स्थलमा विजुली बत्तिको व्यवस्था गरिदिन उनले माग गरे । ‘ठुलो कवर्डहलमा पानी चुहिन्छ, चिसो बढेको छ, लुगा कपडाको व्यवस्था पनि छैन, डा. केसीलाई जाडोले समस्या बनायो उनले भने, ‘यस्तै अवस्था रहे उहाँको स्वास्थ्यमा छिट्टै समस्या आउने छ ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनशन बस्ने योजना बनाएर आएका डा. केसीलाई जुम्ला प्रशासनले निषेध गरेपछि जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा प्रहरीको नियन्त्रणमा सारिएको हो । डा. केसी अनशन बस्न लाग्दा शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय जुम्ला परिसरबाट प्रहरीले पक्राउ गरेको थियो । उनले पक्राउ पछि प्रहरी हिरासतमै अनशन सुरु गर्दा प्रहरीले कवर्डहल लगेर छोडेको हो ।
चिकित्सा शिक्षा विधेयक मेडिकल माफियाको पक्षमा आएको भन्दै सच्याउन माग गर्दै डा. केसीले जुम्लामा अनशन सुरु गरेका हुन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको दुई सय मिटर वरपरसम्म अनशन गर्न नदिने भन्दै निषेधित क्षेत्र घोषणा गरेको छ । डा. केसीको समर्थनमा जिल्ला स्थित नागरिक समाज, युवाहरु रहेका छन् ।
नागरिक समाज जुम्लाले डाक्टर केसीका माग जाहेज भएको भन्दै माग पुरा गर्न माग गरेको छ । नागरिक समाज अध्यक्ष राजबहादुर महतद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ लोकतन्त्रमा शान्तिपुर्ण भेला हुन पाउने र आफ्ना माग सार्वजनिक गर्न पाउनु पर्छ तर प्रशासनले आम नागरिकले आवाज हवाउने दुष्प्रयास गरेकोले यो कार्य निर्दनिय छ यस विषयमा खेद प्रकट गर्दछौँ ।