नन्दराम जैसी
जुम्ला । यहि भदौ २९ गते हुने भनिएको जुम्ला लगानी सम्मेलन राजनैनिक असहयोगका कारण स्थगन भएको छ । चन्दननाथ नगरपालिकाको आयोजनामा हुने भनिएको लगानी सम्मेलनको अन्तिम चरणमा जिल्लाका सबै स्थानिय तहहरुले सम्मेलनमा भाग नलिने तथा सहयोग नगर्ने बताएपछि सम्मेलन नै स्थगन भएको हो । आयोजक नगरपालिकाले आफ्नो स्थानीय तहसँग समन्वय नगरेर एकतर्फि लगानी सम्मेलन गर्न लागेको भन्दै यँहाका सातवटै गाँउपालिकाका जनप्रतिनिधिले सम्मेलनमा भाग नलिने बताएका छन् । जिल्लाका स्थानीय तहको क्षेत्रधिकारलाई बेवास्ता गर्दै नगरपालिकाले लगानी सम्मेलन गर्ने तयारी थालेको भन्दै जनप्रतिनिधिहरुले सम्मेलन सफल हुन नदिने रणनिति गरेका थिए ।
सम्मेलनको कार्ययोजना निर्माणसँगै सुरुवाती चरणदेखि स्थानिय तहसँग समन्वय नभएकोप्रति आपत्ति जनाउँदै प्रकाशन भएका जिल्ला समन्वय समिति र स्थानिय सरकारहरुको ध्यानाकर्षण पत्र, अर्थ मन्त्रालयको सुझाब र नगर कार्यपालिका बैठकको धारणाका आधारमा सम्मेलन स्थगन गरीएको नगरपालिकाले पत्रकार सम्मेलन मार्फत जानकारी गरेको छ । राजनैतिक अवरोध र जिल्ला समन्वय समितिको हस्तक्षपका कारण सम्मेलन स्थगन हुन पुगेको हो । स्थानिय तहहरु र अर्थ मन्त्रालयले पुन शुरुदेखि समन्वय गरी सम्मेलनको तयारी गर्न अनुरोध गरेपनि स्थानिय सरकारका जनप्रतिनिधिहरुले समन्वय गर्न नचाहेका कारण अवरोध सृर्जना भएको थियो ।
सम्मेलनको अन्तिम तयारी पुरा भैसक्दा समेत स्थानिय सरकार र मन्त्रालयको पत्राचार सहितको सुझाबका आधारमा अघि बढ्ने समय नभएकाले सम्मेलन स्थगन गरेको मेयर कान्तिका सेजुवालले बताईन् । उनका अनुसार तिन बिषयमा सम्मेलनको अवधारणा पत्र तयार गर्नुका साथै सबै निकायसँग स्वीकृत र सहमति लिने, स्वदेशि तथा विदेशि गरी तिन सय बढि पाहुनालाई निमन्त्रणा बितरण, कार्यदल गठन र कामको बाँडफाड गर्ने जस्ता महत्वपुर्ण काम सम्पन्न भइसकेका थिए ।
‘जुम्लाको विकासको लागी मैले देखेको लगानी सम्मेलनको सपनाप्रति म प्रतिबद्ध छु, यसलाई सफल बनाउन सँधै क्रियाशिल हुनेछु’ उनले भनिन्, ‘विभिन्न बाधा अवरोधका कारण सम्मेलन स्थगन भएको प्रति दुखि छु, तर यसलाई भावी दिनमा सफल पार्न सम्मेलनको नारालाई अँझ जोरदारले उठाउन सबैलाई आग्रह गर्दछु ।’ सम्मेलन स्थगन भएपछि जिल्लाको विकास आझै पछि पर्नुका साथै जुम्लाका चार÷पाँच सय युवा,युवतिहरु निकट भविष्यमै रोजगार पाउनबाट बञ्चित भएको उनको दावी छ । विकास गर्छु भनेर आएका जनप्रतिनिकै कारण लगानी सम्मेलन स्थगन गरेर जिल्लाको विकासमा अवरोध सृर्जना गर्नु उपयुक्त नभएको नागरीक समाजका सचिब सरोज शाहीको भनाई छ ।