
जुम्ला ः कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढा जुम्लाको पर्यटन क्षेत्रको स्थलगत अनुगमनमा जुटेका छन् । कर्णाली प्रदेशको समृद्धिको आधार नै पर्यटन क्षेत्र रहेको उनले बताए । उनले पर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन गरी पर्यटनमैत्री योजना तर्जुमा गर्ने गरी आम्दानीको स्रोत पर्यटन क्षेत्र बनाउने बताए । जुम्लामा रहेका पर्यटकिय गन्तव्यको स्थलगत अनुगमन गर्दै शनिबार तातोपानी गाउँपालिका पुगेका मन्त्री बुढाले जनताको चाहना र आवश्यकता पुरा गर्न पर्यटक मैत्री कार्यक्रम ल्याउउने छौँ उनले भने, कनकासुन्दरी, ठाकुरज्यु, नदै गुफा, पाण्डवगुफा, बुडुमस्टोको मन्दिर, उच्च स्थानमा फल्ने कालीमार्सी धानको पकेट क्षेत्रका साथै स्याउ भण्डारण केन्द्र भएकोले पर्यटन हबका रुपमा विकास गर्ने योजना बनाउछौँ । उनले कर्णाली प्रदेश सरकार पर्यटनका क्रियाकलाप मार्फत अघि बढ्न चाहन्छ, यसै अनुसार स्थानीय सरकारले पनि समन्वय र सहकार्यमा जोड दिन आवश्यक रहेको सुझाए ।
तातोपानी धाराको अवलोकन गरिसकेपछि पर्यटनमन्त्री बुढाले यहाँको पर्यटन संभावनालाई मध्येनजर गर्दै पर्यटन गुरुयोजना निर्माण अघि बढाउन स्थानीय तहका जनप्रतिनिधिहरुलाई सुझाव दिए । उनले यो गाउँपालिकामा जिल्लाकै सवैभन्दा ठुलो गिडिदह र २४ वटा विभिन्न हिमताल र धार्मिक पर्यटनका हिसावमा निकै धनी रहेछ, यिनीहरुको पर्यटन गुरुयोजना बनाएर संरक्षण र प्रवद्र्धनका कार्यमा लाग्न निर्देशन दिए । उनले यो देशमा सरकार तिन तहको भएपनि सवैले जनताको काम गर्ने भएकोले विवाद गर्न जरुरी नदेखिएको बताए । एक आपसमा मिलेर अघि बढे समृद्धि नजिकै छ, उनले जूम्ला रहदा चन्दननाथ भैरवनाथ मन्दिरको अवलोकन गरेका छन् ।
घरेलु उद्योग विकास समितिको कार्यालय, भु संरक्षण कार्यालय र वन कार्यालय जुम्लाको अनुगमन गरेर सिमा समस्या र चुनौतीका वारेमा जानकारी लिए । यहाँको पर्यटन क्षेत्रलाई न्याय हुने गरी बजेटको व्यवस्थापन गर्ने आश्वासन पर्यटनमन्त्री बुढाले दिए । उनले कर्णाली प्रदेश सरकारले तत्कालिन कर्णाली अञ्चलका पाँच वटा जिल्लामा पर्यटनको अवस्था बुझ्नको लागि विज्ञ टोली खटाउने तयारी भईरहेको बताए ।