काठमाडौं । दशैंको समयमा नयाँ नोटको प्रचलन बढी हुने गर्छ । यही क्रममा तपाईले एक हजार रुपैयाँका नयाँ नोटहरु बोक्नुभएको छ भने होस गर्नुहोला, त्यो नोट नक्कली पनि पर्न सक्छ । एक हजार रुपैयाँका साथै एक सय रुपैयाँको पनि नक्कली नोट बजारमा पुगेको हुन सक्ने प्रहरीले संकेत गरेको छ ।
नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नोटका बेही कारोबारीहरु त पक्राउ, गर्यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन सकेको छैन । यस्तो स्थितिमा तपाईको गोजीसम्म आइपुगेको नोट पनि नक्कली पर्न सक्ने खतरा बढेको छ ।
दशैंका बेलामा नक्कली नोटको बिगबिगी भइरहेको सूचना आएपछि प्रहरीले कारवाही अघि बढाएको थियो । यही क्रममा साँच्चै नै नक्कली नोटहरु फेला परेका छन्, यसले नेपाली अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्न सक्ने देखएकिो छ । विगतमा नक्कली भारुको मात्रै चर्चा हुने गर्दथ्यो, अब नेपाली नोटसमेत नक्कली छाप्ने अपराध सुरु भएको पाइएको छ ।
अभियुक्तहरुको साथबाट बरामद गरिएका एक हजार रुपैयाँका नक्कली नोटहरु झट्ट हेर्दाखेरि ठ्याक्कै सक्कलीजस्तै देखिन्छन् ।
नोट लिँदा नक्कली वा सक्कली हो एकिन गरेर मात्रै लिन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको सुझाव छ । यदि कसैले नक्कली नोट दिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा खबर गर्नुपर्ने उनी बताउँछन्
कसरी चिन्ने नक्कली नोट ?
नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो नहुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।
‘सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन्’ निरौलाले अनलाइनखबरसँग भने, ‘छाम्दाखेरि चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो ।’
निरौलाका अनुसार सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । तर, नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।
चाडबाडकै बेला किन आउँछ ?
नक्कली नोटको कारोबार ठूला चाडपर्व र चुनावका बेला धेरै हुने गरेको कार्यकारी निर्देशक निरौला बताउँछन् ।
चाडबाड तथा चुनावका बेलामा सुरक्षा अंग र राज्यको ध्यान शान्ति सुरक्षामा हुने हुँदा यस्तो मौकामा नक्कली नोटको कारोबार गर्न सहज हुने ठानेर अपराधिक गिरोहले नक्कली नोटको कारोबार गर्न सक्ने निरौलाको भनाइ छ ।
दशैंका बेला जताततै भीड हुने भएकाले पनि नक्कली नोटको कारोबार बढी हुने गरेको उनको अनुभव छ । राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीका प्रमुख समेत रहेका निरौला भन्छन्, ‘दशैंमा जताततै भीड हुन्छ, व्यापारीले पनि राम्रोसँग नोट हेर्न फुर्सद पाउँदैनन् यसकारण पनि नक्कली नोटको कारोबार भइरहेको छ ।’
कीर्तिपुरमा भेटियो नक्कली नोट छाप्ने मेसिन !
शनिबार महानगरीय प्रहरी परिसर काठमाडौको टोली कीर्तिपुर नगरपालिका (४ स्थित कृष्णबहादुर क्षेत्रको साढे ४ तल्ले घरमा पुग्यो । सो घरको पहिलो तल्लाका दुईवटा कोठा नारायण श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठले भाडामा लिएका थिए । ती कोठाहरुमा छापा मार्दा प्रहरीले नक्कली नोट छाप्ने मेसिन, केही नक्कली नोटहरु र छपाइमा प्रयोग गर्ने सामाग्रीहरु बरामद गर्यो ।
नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ईन्द्रबहादुर श्रेष्ठ पर्साको बिरुवा गुठी घर भई हाल मच्छेगाउँमा बस्दै आएका थिए । २७ वर्षे श्रेष्ठ यसअघि सिरहा जिल्लाबाट हात हतियार खरखजाना मुद्दामा ११ महिना जेल बसेर छुटेका व्यक्ति भएको प्रहरीको भनाइ छ । उनी नक्कली नोट छाप्ने प्रमुख योजनाकार रहेको प्रहरीको दाबी छ ।