कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा स्याउको जोन कार्यक्रम लागू हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइको आयोजनामा जिल्ला समन्वय समिति कालिकोटमा आयोजनामा स्याउ जोन क्षेत्र निर्धारणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा रास्कोट नगरपालिकामा स्याउ जोन लागू गर्ने निर्णय भएको हो । जिल्ला समन्वय समितिका प्रमुख अनीपाल शाहीको अध्यक्षता, प्रतिनिधि सभा सदस्य दुर्गबहादुर रावतको प्रमुख आतिथ्यता तथा प्रदेश सांसद कुर्मराज शाहीको विशेष आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा पहिलो चरण यसै आर्थिक वर्षदेखि रास्कोट नगरपालिकाका ९ वटै वडामा स्याउको जोन कार्यक्रम लागू गर्ने र आगामी आर्थिक वर्षदेखि पचालझरना, पलाँता, शान्नित्रिवेणी र नरहरीनाथ गाउँपालिकामा पनि कार्यक्रम विस्तार गरिने भएको छ ।
यस्तै जिल्लाकै सबैभन्दा बढी स्याउ उत्पादन हुने क्षेत्रहरु तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिकाका केही वडाहरु, शुभकालिका गाउँपालिका र महाँवै गाउँपालिकामा जुम्लामा लागू भएको स्याउको सुपर जोन कार्यक्रम विस्तारका लागि अनुरोध गर्ने निर्ण पनि गरिएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सांसद दुर्गबहादुर रावतले कालिकोटमा स्याउको जोन कार्यक्रम लागू भएकोमा खुसी व्यक्त गर्दै अब जिल्लाको पहिचान नै स्याउले दिने बताए । कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीले जिल्लामा लागू भएको स्याउको जोन कार्यक्रमका लागि प्रदेश सरकारले पनि एक करोड बजेट बिनियोजन गरेको बताउँदै कर्मचारीको अभावका कारण प्रदेश सरकारको बजेट खर्च गर्न चुनौती रहेको बताए ।
उनले कर्णाली प्रदेश सरकारले पनि झ्यालबाट योजना हाल्ने र अनुहार हेरेर बजेट बिनियोजन गरेको आरोप लगाए। कार्यक्रममा रास्कोट नगरपालिका प्रमुख कासीचन्द्र बरालले रास्कोट नगरपालिकाको लेकाली क्षेत्र सिप्टीमा निकै राम्रो स्याउ उत्पादन हुँदै आएको बताउँदै अब हरेक नगरबासीले ५० देखि १ सयसम्म स्याउका विरुवा अनिवार्यरुपमा रोप्न लगाइने बताए।उनले भने, रास्कोट नगरले पहिलो चरण नगरभित्र रहेका कुल २ हजार ७ सय घरधुरीले प्रतिक घरधुरीले ५० देखि एक सय अनिवार्य स्याउका बिरुवा रोप्नु पर्ने अभियान संचालन गर्दैछौं।
यसै माघ महिनाबाट हरेक घरधुरीलाई एक सय भन्दा बढी स्याउ रोप्न लगाउने तयारी छ। लेकाली क्षेत्रमा नीजि जग्गा हुनेलाई आफ्नै जग्गा र जग्जा नहुनेलाई सार्बजानिक जग्गा भाडामा दिएर पनि व्यवसायिक स्याउ खेती गर्न लागाउने उनले बताए । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना व्यवस्थापन इकाइ ललितपुरका अनुगमन तथा मुल्यांकन अधिकृत कमल शाहीले परियोजनाको बारेमा जानकारी दिँदै कृषिका लागि खेतियोग्य जमिनको एकीकरण गरी उत्पादन बढाउने उद्देश्यले तय गरिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले अब रास्कोटका व्यवसायीक स्याउ खेती गर्ने किसानका लागि ठूलो सहयोग पुग्ने बताए ।
उनले किसानका लागि मल, बिउ तथा प्राविधिक सेवाको सुनिश्चितता, उत्पादन सामाग्रीको उद्योग स्थापना, बजार तथा उत्पादन उप्रान्तका पूर्वाधारमा सहयोग, उत्पादनमा आधारित अनुदान तथा प्रोत्साहन प्रर्णाली, माटो परीक्षण तथा गुणस्तर नियन्त्रण सेवामा सहयोग पुग्ने बताए । कार्यक्रममा रास्कोट नगरपालिकाका अगुवा कृषक परिलाल न्यौपाने, तिलागुफा नगरपालिकाका अगुवा कृषक टेकबहादुर शाहीले कालिकोट जिल्लामा स्याउको जोन कार्यक्रम लागू हुने किसानका लागि उत्साह छाएको बताएका छन् ।
अन्नपुर्ण पोष्टबाट