‘खसिया आखर’ आउँदै, आर्थिक अभावले समयमै काम भएन

?

नन्दराम जैशी,

जुम्ला । ‘खसिया आखर’ नेपाली भाषाको बृहत जुम्ली शब्दकोष लेखन कार्य शुरु भएको एक दशक बित्यो, तर अँझैसम्म लेखन कार्य सकिएको छैन । हजार पृष्ठ लामो तथा करीब ४० हजार बढि ‘खसिया आखर’ शब्द अटाउने गरी निर्माण हुन लागेको शब्दकोषका लागी अहिलेसम्म २५ हजार मात्रै शब्द संकलन भएका छन् । तत्कालीन जिल्ला विकास समिति र शब्दकोषका सम्पादक समेत रहेका भाषाविद् तथा बरिष्ठ पत्रकार, लेखक रमानन्द आचार्य सहित जुम्ली अगुवाको पहलमा वि.सं २०६५ देखि शब्दकोष लेख्न शुरु गरीएको थियो । बृहत शब्दकोष लेखनलाई पुर्णता दिन विभिन्न निकायले सहयोगको आश्वासन समेत दिए । भने शब्द संकलन तथा लेखन कार्यका लागी तत्कालीन पाँच सदस्यीय टोली समेत गठन भयो ।

तर अहिले नत समिति नै सक्रिय छ, नत नत शब्दकोषका लागी आवाश्यक आर्थीक सहयोग नै जुट्न सकेको छ । पहिल्लो समय शब्दकोष निर्माणमा सरोकारवालाको आवाश्यक सहयोग नहुँदा यसलाई पुर्णता दिने जिम्मा सम्पादककै थाप्लोमा आएको हो । उमेरले ७२ वर्ष नाघेका सम्पादक आचार्य दैनिक आधा घण्टाको बाटो हिडेर कार्यालय पुग्छन् । बिहान घरमा खाएको खानाकै भरमा दिनभर ब्यस्त रहने उनलाई कार्यालयमा पानी दिने सहयोगी समेत कोही छैन । उनि आफु बाँचुन्जेल आफ्नै हातबाट शब्दकोष प्रकाशन गर्न चाहन्छन् । नत्र शब्दकोष लेखन कार्य नै अधुरै रहनेमा उनि चिन्तित छन् ।

कर्णालीका झर्रा खस शब्दमात्र समेटिने यो शब्दकोष अहिले आर्थिक अभावकै कारण सुस्त गतिमा लेखन हुँदैछ । ‘बजेट नहुँदा शब्द नै संकलन गर्न बाँकी छ, भएका शब्द पनि कम्प्युटर टाईपिङ भएका छैनन्’ सम्पादक रमानन्द आचार्यले भने, ‘म एक्लैले शब्द खोज्नु कि शब्द अर्थाउनु, निशुल्क सहयोग गर्ने कोही छैन, पैसाले सहयोग जुटाउन म सक्दैन ।’ जुम्लाको सिंजा उपत्यकाबाट उत्पत्ति भएको लोपोन्मुख ‘खसिया आखर’ तथा नेपाली भाषाको संरक्षण गर्न यो शब्दकोषको तयारी गरीएको हो । उनका अनुसार वि.सं. १८४६ पूर्वको शक्तिशाली ‘खस’ राज्यको पहिचान विलय हुन नदिन र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वलाई जीवन्त राख्न शब्दकोषले सहयोग पुर्याउने छ । तत्कालीन स्थानीय विकास अधिकारी तिलक पौडेलले शब्दकोष लेखन शुरु गर्न सम्पादक आचार्यलाई उत्साहीत बनाएका थिए । भने स्थानि विकास अधिकारी कृष्णचन्द्र घिमिरेको सहयोगमा तयारी कार्य निरन्तर अघि बढिरहेको थियो ।

शब्दकोशमा तत्कालीन खस राज्य सिञ्जा उपत्यकाभित्र र त्यस वरपर बोलिने भाषामा प्रयोग हुने शब्द सङ्कलन गरिएका छन् । शब्द संकलनका लागि भाषाविद् आचार्य अन्य सहकर्मीसहित डोल्पाको तलिभोटान, कालीकोटको रासकोट भेक, मुगु तथा हुम्लाका विभिन्न गाँउ घुमिसकेका छन् । उनिसँगै सदस्यहरु गणेश चौलागाईं, हरिशरण आचार्य, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागाईं समेत केहि समय खटिए । पुराना खस शब्द सङ्कलनमा भने सिञ्जाका स्थानीय संस्कृति सम्बन्धी जानकार तुङ्गानाथ उपाध्यायले सहयोग गरे । खस शब्द सङ्कलनका लागि जुम्लाका सिंजा, पाँचसय, चौधबीस र असी भेकलाई केन्द्रविन्दु बनाइएको छ । अहिले ‘खसिया आखर’ लेख्ने काम अन्तिम चरणमा पुगेको छ । पहिलो पटक खस भाषामा लेख्न लागिएको ‘खसिया आखर’ को पाण्डुलिपि तयार हुँदैछ । भने शब्द पुनरावलोकन गर्ने काम पनि अन्तिम चरणमा पुगेको लेखक तथा सम्पादक रमानन्द आचार्यले बताए । ‘विदेशी भाषाको नक्कलले आफ्नै मातृभाषा हराउँदैछ, खस भाषा अहिले कथ्य भाषाका रुपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न ‘खसिया आखर’ शब्दकोश निर्माण हुन लागेको हो’ उनले भने । यसमा पहिलो असी दराली भाषिकाका उपभाषिकाभित्र असीदरा, पाँचसय दरा, सिञ्जा दराका भाषाका शब्द राखिएको छ । भने दोस्रो तिब्रिकोटी भाषिकाभित्र चौधबिस दरा र डोल्पाका भाषा छन् । तेस्रो रास्कोटी भाषिकाभित्र कालीकोटमा बोलिने भाषा छन् । चौथोमा मुहु भाषिकाभित्र मुगु र हुम्ला जिल्लाभित्र बोलिने भाषालाई समावेश गरिएको छ । सङ्कलित शब्दमध्ये ‘अ’ देखि ‘न’ वर्णसम्मका सबै शब्द ‘कम्प्युटराइज्ड’ गरिसकिएको छ । भने बाँकी शब्द ‘कम्प्युटराइज्ड’ गर्न चन्दननाथ नगरपालिकाले चालु आर्थिक वर्षमा दुई लाख विनियोजन गरेको छ । बाँकी ‘प’ देखि ‘ज्ञ’ सम्मका वर्णबाट आउने शब्द ६ महिनामा सक्ने लक्ष्य लिईएको छ ।

अन्तिम पाण्डुलिपि तयार गरी विषय विज्ञसम्म पुर्याउने र उनीहरुबाट आएका सुझाव बमोजिम संशोधनसहित परिमार्जित, परिस्कृत शब्दकोश आर्थिक वर्ष ०७७ भित्र प्रकाशन गर्ने जमर्को राखिएको छ । शब्दकोश प्रकाशनका लागि जिल्ला समन्वय समितिमार्फत नगरपालिका र गाउँपालिकाहरुमा बजेटको प्रस्ताव गरिएको छ । लेखक तथा सम्पादक आचार्यले जीवनको उत्तरार्धमा नयाँ पुस्तालाई महत्वपूर्ण कोसेली छोड्न अहोरात्र खटिएर काम गरेको भन्दै जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले यसलाई पुर्णता दिन सबै स्थानीय तहहरुमा पहल गर्ने बताए ।

खष शब्द ,       अर्थ,

खसिया – खष जाति वा मानिस ,

आखर – शब्द, अक्षर वा रेखाहरु

छोट्या, छोट्टी – छोरा, छोरी

टटकि – बच्चाहरु, सन्तान

क्याँद्दोे – अब के गर्ने

कइथोे माण्ठ – कस्तो मान्छे

धेउक्या, धेइक्या – थाँहा पायौ, थाँहा पाईस्

रायौ, राईस – चिन्यौ, चिनिस

मथ्थ – धेरै

थोकै, नापानापा – कम, थोरै थोरै

आ भइँजाला – अब पुग्यो वा भईसक्यो

च्वोड्याँला – जान्न, खान्न, मान्दैन

प्रकाशित मिति : २०७५ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस