किन नापिदै छ, सगरमाथाको उचाई

काठमाडौं । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनका लागि जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) उपकरणसहित सर्भेयर टोली पठाउने तयारी गरेको छ । नँया पत्रिकामा समाचार छ । उपकरणसहित सगरमाथाको शिखर जाने प्राविधिक कर्मचारी छनोट र तालिमका लागि नापी विभागले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई जिम्मा दिएको छ । लाङटाङमा आरोहण अभ्यास सम्पन्न गरेर सर्भेयर टोली चैत पहिलो साता सगरमाथातर्फ प्रस्थान गर्नेछ ।

नापी विभागले सगरमाथा आरोहण गर्न चाहने इच्छुक १९ जना सर्भेयरहरूको नाम प्रतिष्ठानमा पठाएको छ । प्रतिष्ठान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सञ्चालित छ । प्रतिष्ठानका सूचना अधिकृत उत्तमबाबु भट्टराईका अनुसार यीमध्ये पाँचजना सर्भेयर छनोट गरेर लाङटाङ हिमालमा अभ्यासका लागि पठाइनेछ । ‘आवेदकहरूको शारीरिक फिटनेस, स्टामिना, हाइअल्टिच्युडमा यात्रा गरेको अनुभवलगायत आधारमा पाँचजना छानेर हामी अभ्यासका लागि पठाउँछौँ,’ भट्टराईले भने, ‘उहाँहरूलाई १५ दिनको तालिम गराएर नापी विभागमा पठाइदिनेसम्मको जिम्मेवारी पाएका छौँ ।’ विभाग र प्रतिष्ठानबीच तालिम सम्बन्धमा गत साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

मंसिरमा उचाइ मापन सकिने
सगरमाथाको उचाइ मापनसम्बन्धी परियोजनाको सचिवालयका संयोजक सुशील डंगोलले भने, ‘वैशाखमा सर्भेयरको टोलीले आरोहण गर्न सफल भएमा बाँकी तथ्यांक प्रशोधन गरेर मंसिरसम्म सगरमाथाको उचाइ तय हुनेछ ।’ नापी विभागको योजनाअनुसार दुईजना सर्भेयरलाई सगरमाथाको आधार शिविरमा राखिनेछ भने दुईजनालाई शिखरमा पठाइनेछ ।

सगरमाथा आरोहणका लागि मात्रै विभागले ६० लाख रुपैयाँ छुट्याएको डंगोलले बताए । ‘आरोही सर्भेयर टोली र उनीहरूका शेर्पा सहयोगीका लागि आवश्यक सम्पूर्ण बन्दोबस्त मिलाइएको छ,’ डंगोलले भने । विभागले भारतका केही स्थान हुँदै सिरहादेखि सोलुसम्म जिपिएस प्रणालीबाट सडक लेभलिङ गरिसकेको छ ।

भूकम्पपछि सगरमाथाको उचाइबारे अन्तर्रा्ष्ट्रियस्तरमा टीकाटिप्पणी भएपछि सरकारले आधिकारिक रूपमा उचाइ मापन गर्न लागेको हो । विभागका सूचना अधिकारी दामोदर ढकालले भने, ‘सगरमाथाको उचाइ मापन हाम्रो प्रमुख प्राथमिकतामा छ । तोकेको समयमा हामी सम्पन्न गर्छौँ ।’

पहिलोपटक नेपालले मापन गर्दै
सरकारले पहिलोपटक आफ्नै खर्चमा सगरमाथाको उचाइ मापन गर्न लागेको हो । यस वर्ष मात्रै सरकारले करिब १५ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारी योजनामा गत असोजभित्रै सगरमाथा आरोहण गर्ने उल्लेख थियो । तर, मौसमलगायत कारणले कार्ययोजना पछि धकेलिएको हो ।

उपकरण खरिद हुँदै
ढकालका अनुसार गुरुत्वाकर्षण सर्भेका लागि उपकरण खरिद प्रक्रिया सुरु भएको छ । सन् १९८० मा बेलायत र सन् २०१० मा डेनमार्कको सहयोगमा गुरुत्वाकर्षण सर्भे गरिएको थियो । ‘उपकरण खरिदका लागि टेन्डर आह्वान भइसकेको छ,’ ढकालले भने, ‘उपकरण खरिद भएपछि सर्भेयरहरूलाई तालिम पनि दिन्छौँ ।’ गुरुत्वाकर्षण सर्भेका लागि विभागले ५४ स्थानमा मोनोमेन्टेसन अर्थात् पिलर राखेको छ ।

अहिलेसम्म भारतीय मापनलाई मान्यता
सन् १९५४ मा नेपालको स्वीकृतिमा भारतको सर्भे अफ इन्डियाको टिमले सगरमाथाको उचाइ मापन गरेको थियो । त्यही आधारमा सगरमाथाको उचाइ ८८४८ मिटर भनिँदै आएको छ । त्यसपछि ६ पटक सगरमाथाको उचाइ मापन भयो, तर नेपाल सहभागी भएन । चीनले दुईपटक, इटालीले दुईपटक, अमेरिका र डेनमार्कले एक–एकपटक सगरमाथाको उचाइ मापन गरे । तर, उनीहरूको मापनलाई नेपालले मान्यता दिएन ।

भारतीय प्राविधिकले सन् १९५४ मा गंगा नदीको किनारलाई आधार मानेर त्रिभुजाकार विधिबाट सगरमाथाको उचाइ मापन गरेको जानकारहरू बताउँछन् । सन् १९८७ मा इटालीको टोलीले जिपिएस अर्थात् ग्लोबल पोजिसनिङ सिस्टमबाट सगरमाथाको पहिलोपटक मापन गरेको थियो । त्यतिवेला सगरमाथाको उचाइ ८८७२ मिटर मापन भएको थियो । अहिले नेपालले जिपिएस प्रणालीका आधारमा उचाइ मापन गर्न लागेको हो ।

प्रकाशित मिति : २०७५ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस