
जुम्ला : निर्माण सुरु गरेको पाँच वर्ष बितिसक्दा पनि सिँजा गाउँपालिका–२ रनुखानस्थित हिमा नदीमा पुल बन्न सकेको छैन । अहिलेसम्म एउटा पिलर मात्रै ठडिएको छ । त्यो पनि अधुरै छ । यो पुल निर्र्माणका लागि ०६९ मै चार करोड २५ लाखमा ठेक्का सम्झौता भएको थियो । ०७० देखि निर्माण थालिएको थियो । तर, एउटा पिलर ठडिएपछि निर्माण रोकिएको स्थानीय हंश सार्कीले बताए ।
स्थानीय बासिन्दाले पुल निर्माणका लागि पटक–पटक माग पनि गरेका छन् । जनप्रतिनिधिको टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समेत पुगेको थियो । तैपनि, पुल निर्माणका लागि ताकेता नभएको स्थानीय बासिन्दाले गुनासो गरे । पुल निर्माणका लागि ल्याइएका दुई सय बोरा सिमेन्ट प्रयोग नभएरै खेर गएको छ । पाँच वर्षदेखि गोदाममा राखिएको सिमेन्ट खेर गएको हो । त्यस्तै, पुलका लागि ल्याएका छड, गिट्टी, बालुवा पनि अलपत्र छन् ।
पुलका कारण खेत बाँझो
हिमा नदीमा पुल बनाउन सुरु गर्दा सिँचाइ कुला भत्किएको थियो । पुल नबनेपछि सिँचाइ कुलो पनि बनाउन सकिएको छैन । जसका कारण सिँजा–२ रनुखाना गाउँको पाँच सय रोपनी खेत बाँझै रहेको स्थानीय बासिन्दाले गुनासो गरे । स्थानीय महेश्वर तिरुवाका अनुसार पुल बन्ने भएपछि सिँचाइ कुलो भत्काउन दिइएको थियो । ‘पुल बन्छ भनेर सिँचाइ कुलो माया मा-यौँ, अहिले न पुल बन्यो न त सिँचाइ गर्ने कुलो रह्यो,’ उनले भने । सिँचाइ सुविधा नहुँदा धान रोप्न छोडिएको उनले बताए ।
https://www.nayapatrikadaily.com/news-details/10914/2019-04-09