जीर्ण बन्यो मानवशास्त्री विष्टको कर्णाली इन्स्टिच्युट

जुम्ला : मानवशास्त्री डोरबहादुर विष्टले जुम्लाको विकासका लागि काम गर्न स्थापना गरेको कर्णाली इन्स्टिच्युट भवन जीर्ण बनेको छ । संरक्षणको अभावमा इन्स्टिच्युटका सामान र पुस्तकसमेत हराएका छन्  ।

पूर्वी जुम्लाको पातारासी गाउँपालिका–८ डोलकाटीमा मानवशास्त्री विष्टले ०४२ मा कर्णाली इन्स्टिच्युट स्थापना गरेका थिए । उनले यस क्षेत्रको अध्ययन अनुसन्धानसँगै विकासका लागि काम गर्न इन्स्च्यिुट स्थापना गरेको तत्कालीन कर्मचारी पुण्यबहादुर बोहराले बताए । ‘जुम्लाको गाउँमै बसेर खोज अनुसन्धान गर्न, सामाजिक तथा आर्थिक विकासका लागि काम गर्न कर्णाली इन्स्च्यिुट खोल्नु भएको थियो,’ बोहराले भने, ‘त्यतिवेला थुप्रै काम गर्नुभएको थियो ।’पातारासीवासी अहिले पनि मानवशास्त्र विष्टले कर्णाली इन्स्टिच्युटमार्फत गरेका काम सम्झिन्छन् । उनले पातारासी (तत्कालीन डिल्लीचौर गाविस)को चौधबीस क्षेत्रमा गुणस्तरीय शिक्षा, बिजुली, खानेपानी, स्वास्थ्यका क्षेत्रमा काम गरेको स्थानीय बासिन्दाले बताए । ‘थुप्रै कामको थालनी गर्नुभएको थियो, केही पूरा भए । केही अधुरै रहेँ,’ बोहराले भने ।

त्यस्तै, इन्स्टियुटमार्फत उनले ०५० मा डिल्लीचौरस्थित ऋणमोक्ष विद्यालय भवन निर्माण गरेका थिए । तिर्खु गाउँमा एक किलोवाटको जलविद्युत योजना निर्माण गरिएको थियो भने जम्न र लासी गाउँमा समेत बिजुली बालेर उज्यालोको सुरुवात गरिएको इन्स्च्यिुटमा काम गरेका बोहराले बताए । चौधबीसका धुलाम्मे बाटारूमा ढुंगा बिछ्याएर सजिलो बनाउनु काम गरिएको उनी सम्झिन्छन् । ‘त्यहीवेला छाउपडी अन्त्यका लागि गाउँगाउँ गएर अन्तरक्रिया गर्ने, छलफल गर्ने, स्थानीय बासिन्दालाई सचेत गराउने काम गर्नुभएको थियो,’ बोहराले भने, ‘उहाँले भनेको सबैले मान्ने गरेका थिए ।’

कर्र्णाली इन्स्टिच्युटमार्फत विकास निर्माणसँगै सामाजिक र शैक्षिक विकासका लागि काम गरिएको पारातासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले बताए । ‘उहाँले विद्यालयमा दक्ष शिक्षक ल्याएर अंग्रेजी पढाउन लगाउनुभएको थियो,’ गाउँपालिका अध्यक्ष बोहरा सम्झिन्छन, ‘स्वदेशी मात्रै होइन, विदेशी शिक्षक पनि आएका थिए ।’ मानवशास्त्री विष्टले इन्स्टिच्युटमार्फत सामाजिक जागरणका काम थालेको उनले बताए ।

तर, २७ पुस, ०५२ मा जुम्लाबाट ललितपुरस्थित घर जानलाई हिँडेका उनी फर्केर आएनन् । ‘त्यही दिनदेखि हराउनुभयो । उहाँले थालेका काम अधुरै रहे । कर्र्णाली इन्स्टिच्युट पनि अलपत्र प-यो,’ इन्स्टिच्युटका पूर्वकर्मचारी बोहराले भने । सशस्त्र द्वन्द्वको समयमा माओवादीले कर्र्णाली इन्स्टिच्युटमा आगजनी ग-यो । उनले गरेका खोज, अनुसन्धान, पुस्तक जले नष्ट भए । त्यहाँका सरसामान केही हराए, केही जले । अहिले भवन जीर्ण भएको छ । छानोको काठ झर्न थालेको स्थानीय बासिन्दाले बताए ।

डोरबहादुर विष्ट फर्किने आस
मानवशास्त्री डोरबहादुर विष्ट ललितपुरस्थित घर जानका लागि जुम्लाको चौधबीसबाट हिँडेको २३ वर्ष भयो । अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन । तर, चौधबीसका बासिन्दा अझै फर्किने आसमा छन् । ‘छिट्टै फर्किन्छु भनेर जानुभएको थियो,’ उनलाई कयौँपटक आफ्नो घरमा समेत लगेका सहकर्मी पुण्यबहादुर बोहराले भने, ‘फर्किनु हुन्छ भन्ने आस गर्दागर्दै २३ वर्ष बित्यो । अझै आस मरेको छैन । फर्किनुहुन्छ जस्तो लाग्छ ।’

मानवशास्त्री विष्ट भीमप्रसाद श्रेष्ठसँगै ०४२ मा जुम्ला पुगेका थिए । दाउरा बालेर नै उज्यालो गर्ने जुम्लाको अवस्था देखेपछि बिजुली बाल्ने अभियान थालेको बोहरा सम्झिन्छन् । त्यसपछि कर्णाली इन्स्टिच्युट खोलेर ०५२ सम्म जुम्लामै बसे । ४ माघ, १९८३ मा जन्मिएका मावनशास्त्री विष्टले बेलायतबाट उच्च शिक्षा हासिल गरेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस